यो साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य बढोत्तरुी भएको छ । मंगलबार ८५ अंकले घटेको सूचक बुधबार ८.९० अंकले बढेको हो । सूचक घटेपछि अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्य घटेको छ । सस्तो मूल्यमा सेयर खरीद गर्ने अवसर पाएपछि विस्तारै लगानीकर्ताको प्रवेश भएको छ ।
बुधबार उच्च रकमको सेयर कारोबार हुने सेयरमूल्य बढ्ने कम्पनीहरुमा पनि अधिकांश जलविद्युत क्षेत्रका कम्पनीहरु रहेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापिका संसदमा मंगलबार आगामी बजेटमा सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै उर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिने घोषणा गरेका छन् । अर्थमन्त्रीको उक्त घोषणाले पनि धितोपत्रको दोश्रो बजारमा सकारात्मक प्रभाव परेको हो । जसले जलविद्युत कम्पनीहरुको सेयरमूल्य बढ्न जाँदा समग्र नेप्से नै सुधारिएको हो ।
यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि बढ्न थालेको छ ।
निक्षेप थपिएसँगै जेठ २ गते आइपुग्दा बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९०.४४ प्रतिशत कायम भएको छ । स्थानीय तह निर्वाचनमा भएको खर्च विस्तारै बैंकिङ्ग प्रणालीमा थपिँदै जाने भएकाले बजारमा तरलता संकट विस्तारै हट्दै जाने देखिन्छ । चालु आर्थिक वर्ष सकिन अब २ महिना मात्र बाँकी रहेकाले पूँजीगत खर्च बढ्दै जाँदा समेत बैंकिङ्ग प्रणालीमा निक्षेप थपिँदै जाने देखिन्छ ।
नेपाल बैंकर्स संघले जेठ महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाले पनि त्यसले पनि सेयर बजारमा सकारात्मक असर पार्ने देखिन्छ । त्यसलै आगामी दिनमा सेयर बजार विस्तारै सकारात्मक दिशामा जाने विश्लेषण गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से ८.९० अंकले बढेर सूचक २२७४ दशमलव ४२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स २.४१ अंकले बढेर ४४१.०९ बिन्दुमा पुगेको छ ।
आज एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२७ वटा कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर २७ हजार ५७ वटा संख्यामा खरिदबिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार कारोबारमा आएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहगत सूचक बढेको छ भने ५ वटाको घटेको छ । हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै २.८० प्रतिशतले बढेको छ । विकास बैंक र फाइनान्स पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन सेबोनमा १४७.५२ प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ६.०२ प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य बढेर ६५२ रूपैयाँ पुगेको छ ।
यस्तै सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य ५.९१ प्रतिशत, बरुण हाइड्रो ५.७७, इमर्जिङ्ग नेपाल लिमिटेड ३.५७, नेशनल हाइड्रोपावर ५.५४, सामलिङ्ग पावर ५.३१, कालिका पावर ५.२६, युनिभर्सल पावर ५.२०, युनियन पावर ५.१८ र अरुण काबेली पावर कम्पनीका सेयरधनीहरुले ५.१७ प्रतिशतले नाफा कमाएका छन् ।
आज अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ५ करोड ३८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त ४ करोड ५९ लाख, हिमालयन डिष्टिलरी ४ करोड ३९ करोड, नेपाल लाइफ ३ करोड ५९ लाख, अरुण काबेली पावर ३ करोड ६२ लाख, राधी विद्युत कम्पनी ३ करोड ६० लाख, ङादी ग्रुप पावर ३ करोड ३० लाख, नेशनल हाइड्रोपावर ३ करोड १७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ३ करोड र अपि पावरको ३ करोड ११ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
यस दिन पनि सूर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयरमूल्यमा लगातर तीन कारोबार दिन नकाारात्मक सर्किट लागेको हो । आजको गिरावटससँगै संस्थाको सेयरमूल्य प्रतिकित्ता ११०१.३० पैसामा झरेको छ ।
यसैगरी प्रिमियर इन्स्योरेन्सको ४.३९ प्रतिशत, सूर्या लाइफ ४.२८, एशियन लाइफ ३.९८, महुली लघुवित्त २.९९, प्रभु इन्स्योरेन्स २.७८, मञ्जुश्री फाइनान्स २.६९ र ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य २.६२ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया