‘नेपाली उत्पादन प्रयोग गरौं भनेको टोपी मात्र भेटेँः मन्त्री श्रेष्ठ

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा जाँदा नेपाल मै उत्पादन भएका कपडा लगाउन खोज्दा टोपी मात्र आफुसँग भएको बताए ।

नेपाली उत्पादनको सन्दर्भमा भाषण गर्ने ब्यवहारमा उतार्न नखोज्ने भएकाले पनि स्वदेशी उत्पादन र उत्पादकत्व बढ्न नसकेको मन्त्री श्रेष्ठको भनाई छ ।

“नेपालमै बनेको कपडा लगाएर कार्यक्रममा जान्छु भनेर दराज खोलेको टोपी मात्र भेटेँ,” मन्त्री श्रेष्ठले भने, “नेपालबाट उत्पादन हुने वस्तुहरुमा कुनै पनि कमी छैन । यसलाइ यथार्थमा उतार्न सबै लाग्नुपर्यो । यसका लागि नेपाल नै उठ्नु पर्यो ।”

स्वदेशी उत्पादन वृद्धि गर्ने सन्दर्भमा तुरुन्तै गरुँ भन्ने चाहना भएपनि ऐन, नियम, कानुनले छेक्ने गरेको उनको अनुभव छ । नेपालको औद्योगिक क्षेत्रले अपेक्षित विकास गर्न नसकेको बताउँदै उनले उत्पादकत्वको वृद्धिको विषय सबैको साझा रहेको उल्लेख गरे । यसका लागि सरकार, लगानीकर्ता र श्रमिक तीनै पक्ष लाभान्वित हुने गरी काम गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले औंल्याए ।

देशमा औद्योगिक सम्भावना प्रयाप्त भएपनि स्रोत साधनको सदुपयोग हुन नसकेको उनको भनाइ छ । सरकारको लक्ष्य अनुसार रोजगार सृजना हुन नसक्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, “वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्स समेत अनुत्पादक क्षेत्रमा प्रयोग भएको छ, रेमिट्यान्स ८० प्रतिशत अनुत्पादन मूलक क्षेत्रमा प्रयाग भएको छ ।”

उत्पादनशिल जनशक्तीलाई स्वदेशमै रोजगारी सृजना गराउने सरकारको पहिलो प्राथमिकता रहेको उनले जानकारी दिए । उत्पादकत्व वृद्धिका लागि तीनै तहका सरकार बीचको सहकार्य आवश्यक रहेको औंल्याएका मन्त्री श्रेष्ठले आवश्यक कानुनी व्यवस्थाहरुमा पनि सुधार गर्नुपर्ने खाँचो रहेको बताए ।

“उत्पादकत्व बढाउन असल श्रम सम्बन्ध आवश्यक हुन्छ,” उनले भने, “रोजगारदाता र श्रमिकको सम्बन्ध असल नहुँदासम्म औद्योगिक क्षेत्रमा सहज हुँदैन ।” श्रमीसँग रोजगारदाता र रोजगारदातासँग श्रमिक डराउने अवस्था रहेको बताउँदै उनले यसलाई तुरुन्त अन्त्य गर्नुपर्ने बताए । रोजगारदाताले पनि ट्रेड युनियन खोलेपछि आफु सकिएँ भन्ने सोच राख्नु नहुने उनले बताए ।

श्रम ऐनको सन्दर्भमा रोजगारदाताले श्रममैत्री भयो भन्ने र श्रमिकले रोजगारदातामैत्री भयो भन्ने गुनासो आउने गरेको उनले बताए । यसलाई पनि रोजगारदाता र श्रमिक बीच प्रयाप्त छलफल गरेर समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ । रोजगरादाताले पनि पाएसम्म छिमेकी मुलुकको कामदार राख्न रुचाउने गरेको बताउँदै उनले भने, “स्वदेशी श्रमिक भए ट्रेड युनियन गठन गर्ने, बन्द हड्ताल गर्छन् भन्ने बुझाई छ ।” एकले अर्कालाई दोष लगाउने भन्दा पनि यसको समाधान गर्न रोजगारदाता र श्रमिकहरुका संगठन बसेर समाधान निकाल्न आवश्यक रहेको उनले बताए ।

अब राजनीतिक मुद्दामा अल्झने अवस्था नभएको बताउँदै उनले भने, “राजनीतिक दलहरुले पनि कुनै बाहाना बनाएर पन्छाउन खोज्ने अवस्था छैन ।” राष्ट्र सेवकले हेटौंडा कपडा उद्योगको उत्पादन र सरकारी गाडीमा गोरखकाली टायरको प्रयोग गर्ने हो भने ती कम्पनी पनि पुनः सफल रुपमा सञ्चालन गर्न सकिने उनले बताए । “सरकारले गरेन मात्रै भन्नु भएन,” उनले भने, “बाहिर बोलेर मात्र भएन, उद्योगीहरुको समस्याको समाधानका लागि हामी तयार छौं ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।