ट्रेजरी बिल्सको बट्टादर हालसम्मकै उच्च, ब्याजदर अझै बढ्ने निश्चित

0
Shares

सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि जारी गर्ने अल्पकालिन वित्तीय औजार ट्रेजरी बिल्सको बट्टादर हालसम्मकै उच्च भएको छ । बैंक/वित्तीय संस्थाले अत्याधिक कर्जा प्रबाह गरेसंगै जटिल बन्दै गएको तरलता अभावको समस्याले ट्रेजरी बिल्सको बट्टादर बढेको हो ।

बैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि हालसम्मकै उच्च १२.५ कायम गरिएको छ । त्यसैगरी विकास ऋणपत्रको ब्याजदर पनि ११ प्रतिशत कायम गर्दै निष्कासन तथा बिक्री खुला भैरहेको छ । सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अल्पकालिन तथा दिर्घकालिन वित्तीय औजारको ब्याजदर नै नयाँ उचाइमा पुगेको अवस्थाले बैंकिङ क्षेत्रको ब्याजदर तत्कालन घट्छ वा स्थीर रहन्छ भन्ने अनुमान गर्न पनि नसकिने एक बैंकरले बताए ।

“बैंकिङ प्रणालीमा कर्जाको माग घटेको छैन,”ती बैंकरले भने,“ब्याजदर बढाउँदा पनि नयाँ निक्षेप नआएको अवस्था छ, चालु आर्थिक वर्षको हालसम्म बैकिङ प्रणालीबाट कुल २ खर्ब मात्र निक्षेप सृजना भएको छ ।” यस्तो अवस्थामा सरकारले विस्तारकारी बजेट ल्याएकाले नेपाल राष्ट्र बैंक संयम हुनुपर्ने उनको भनाई छ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ १८ गतेसम्ममा २८ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर ८.१८ कायम भएको छ । त्यसैगरी ९१ दिनेको औसत ९.३४, १८२ दिनेको १०.१३ र ३६४ दिने ट्रेजरी बिल्सको ब्याजदर १०.१२ प्रतिशत कायम भएको छ । २१ दिने ट्रेजरी विल्सका लागि जेठ १७ गते तय भएको ब्याजदर सन २०११ पछिको उच्च हो । सन २०११ अप्रिल १३ मा २१ दिने ट्रेजरीको ब्याजदर ९.७७ रहेको थियो ।

त्यसैगरी जेठ १७ गते कायम भएको ९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर ९.३४ प्रतिशत कायम भएको छ । यो दर सन २०११ अप्रिल १३ मा ९.६२ प्रतिशत रहेको थियो । सो अवधिमा १८२ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर जेठ १७ गते १०.१३ प्रतिशत रहेको छ । यो पछिल्लो १३ वषए यताकै उच्च हो । सन् २००९ १८२ दिने ट्रेजरी बिल्सको ब्याजदर २.६८ प्रतिशत रहेको थियो । त्यसो त ३६४ दिने ट्रेजरी बिल्सको ब्याजदर पनि पछिल्लो करिब १३ वर्ष यताकै उच्च हो । सन २००९ मा यस्तो दर ३.३९ प्रतिशत रहेको थियो ।

ब्याजदर घट्ने बढ्ने विषयको निर्धारण बजारले गर्ने भन्दै नेपाल राष्ट्र बैंकका मौद्रिक व्यवस्थापनका एक अधिकारीले आगामी दिनमा ब्याजदरमा थप दवाव पर्न सक्ने बताए । केन्द्रीय बैंकले सरकारलाई स्रोत जुटाउन विकास ऋणपत्र, नागरिक बचतपत्र, बैदेशिक रोजगार बचतपत्र र टे«जरी बिल्स मार्फत आन्तरिक ऋण उठाइदिन्छ । यी वित्तीय औजार मध्ये आन्तरिक ऋण उठाउनका लागि सबैभन्दा धेरै करिब ५५ प्रतिशतको हाराहारीमा विकास ऋणपत्र प्रयोग हुने गरेको ती अधिकारीको भनाइ छ ।

“विगत केही समय देखि बजारमा देखिएको तरलता अभावको समस्याका कारण बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्सका लागि बोलकबोल गर्दा नै धेरै दर माग गर्ने गरेका छन,”उनले भने,“बैंक वित्तीय संस्थाले बैंकदर भन्दा माथि रहेर बोलकबोल गरेको र सरकारले पनि त्यो दरमा आन्तरिक ऋण उठाउने निर्णय गर्दै आएको अवस्था छ ।”

नेपाल राष्ट्र बैंकले ९१ दिनको ट्रेजरी बिल्सको रेटलाई नीतिगतदरको हाराहारीमा राख्ने प्रयास गर्ने भएपनि सो अनुसार हुन नसकेको देखिन्छ । हालको नीतिगत दर ५.५ प्रतिशत रहेको छ भने ९१ दिने ट्रेजरी बिल्सको रेट ९.३४ प्रतिशत पुगेको छ । यो सीमा माथी जानु भनेको बजारको अवस्था सकारात्मक नरहेको बुझिने उनले बताए ।

पछिल्लो समयमा ब्याजदरमा दवाव परिरहेको बताउँदै उनले अत्याधिक आयातका कारण वित्तीय क्षेत्रको स्रोत र ब्याजदरमा दवाव परेको तर्क गरे । “हाल २ खर्ब हाराहारीमा स्थायी तरलता सुविधा उपभोग भएको छ,” उनले भने,“सोही अनुपातमा शोधनान्तर घाटा पनि छ । त्यसले गर्दा पनि दवाव सृजना भएको हो ।” बैंक वित्तीय संस्थामा निक्षेप नआएपछि ब्याजदर बढाउने बताउँदै त्यसको असर कर्जाको ब्याजदरमा पनि पर्ने उनको बुझाइ छ ।

बैंकिङ क्षेत्रमा स्रोत अभाव तथा ब्याजर बढीरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षका लागि विस्तारकारी बजेट ल्याएको छ । वित्तीय प्रणालीमा सहज स्रोत उपलब्धता हुँदा अनुत्पादक क्षेत्रमा लगानी विस्तार भई अत्याधिक आयात भयो । त्यसले गर्दा वाह्य वित्तीय क्षेत्रका दबाब पर्न गएपछि आयातलाई नियन्त्रण गर्न परेको अवस्था छ ।

अथर्तन्त्रमा परेको दवाव, वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या र बढ्दो ब्याजदरका विच विस्तारीत बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रमा पर्न सक्ने असरलाई ध्यानमा राखेर ल्याउनु पर्दा केन्द्रीय बैंक समेत दबाब छ । आगामी आर्थिक वर्षको वितास्तरकारी बजेट आएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अहिलेको वित्तीय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर ल्याउनेछ । बजारको ब्याजदर निकै उतारचढाव नियन्त्रणका लागि राष्ट्र बैंक आफैले पनि ट्रेजरी बिल्स खरिद गर्ने व्यवस्था पनि छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।