नागरिक लगानी कोषको ५० हजार कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरको लिलामी मंगलबारदेखी खुलेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लिलामीको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्युनतम प्रतिकित्ता एक हजार ५९५ रुपैयाँ तोकी शिलबन्दी बोलपत्र पेस गर्न सक्ने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ । आवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्म रहेको छ ।

इच्छुक आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अहिले दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता एक हजार ७७१ रुपैयाँको हाराहरीमा कारोबार भैरहेको छ ।

लिलामी शेयरका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको हात्तीसार काठमाण्डौ, एलआईसी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडक मार्फत आवेदनदिन सकिने छ ।

यस्तै नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र बुझाउन सकिने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ ।