सानिमा बैंकको लाभांश पारित, उपयुक्त संस्थासँग गाभ्न/गाभिन सञ्चालक समितिलाई अख्तियारी

0
Shares

सानिमा बैंकले यहि असोज २९ गते बुधबार नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा सम्पन्न पन्ध्रौ वार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश लगायतका विभिन्न एजेण्डा पारित गरेको छ ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको हो । गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस र ८८ करोड ४३ लाख ४९ हजार २८५.४७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । साधारण सभाबाट पारित लाभांश असोज १२ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र पाउनेछन् । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १३ गते बुकक्लोज गरेको थियो ।

त्यसैगरी बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साधारणसभाबाट बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित गराएको छ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७५/७६ मा सानिमा बैंकले २ अर्ब २६ करोड खुद मुनाफा गरेको थियो । बैंकको गत असारमसान्तसम्ममा कुल सम्पत्ति १०९.०६ अर्व, कुल निक्षेप ९२.२८ अर्व तथा खुद कर्जा सापटी ८३.४४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको थियो।