कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जोशीद्वयको उम्मेदवारी

0
Shares

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्वर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

कञ्चनपुरमा व्यावसायिक क्षेत्रमा सक्रिय पिताम्बर वाणिज्य संघको बहाल बरिष्ठ उपाध्यक्ष हुन भने गणेश पूर्व अध्यक्ष हुन् । सङ्घको नेतृत्वका लागि दुबैजना आ–आफ्नो टोलीसहित चुनावी मैदानमा उत्रिएका छन् ।

पिताम्वर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यही असार २५ गते महेन्द्रनगरमा हुने निर्वाचनका लागि प्यानल सहित जिल्लाभर चुनावी दौडमा दुबै प्यानल छन् । पिताम्बर प्यानलले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ । सङ्घका वर्तमान अध्यक्ष जङ्गबहादुर मल्ल, पूर्वअध्यक्ष हेमराज पाण्डेय, माधव भट्ट लगायतको साथ रहेको भन्दै आफू जित्नेमा पिताम्बर आशावादी छन् ।

व्यवसायीको स्म्मान, मुलुक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले आफू व्यापारी, व्यवसायीको हकहित र अधिकारका लागि सक्रिय रहने बताए । “सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापनादेखि मझगाउँ विमानस्थल सञ्चालनसम्मका निजी क्षेत्रको पहिलेदेखि नै सक्रिय पहल रहेको उनको भनाइ थियो । उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वरप्रसाद जोशी चुनावी प्रतिस्प्रर्धामा छन् ।

गणेशदत्त प्यानलबाट वाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला सापकोटा भट्ट उम्मेदवार बनेका छन् । कञ्चनपुरका प्रतिष्ठित व्यापारी तथा निर्माण व्यवसायी गणेशदत्त जोशीले उद्योगी व्यवसायीहरुको हकहितमा लड्न र विकास, निर्माणका सवालमा सरकारलाई दवाव दिन आफूले उम्मेदवारी दिएको बताए । उनी जोशी ट्रेड इन्टरप्राइजेज एण्ड सप्लायर्सका सञ्चालक समेत हुन् ।

तीन हजार २०० भन्दा बढी मतदाता रहेको उद्योण वाणिज्य सङ्घको १७ औं कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षसहित ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

असार २५ गते हुनेउद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समितिको निर्वाचनका लागि असार १४ गते मनोनयन दर्ता गरिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।