एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड परिपक्क, नेप्सेद्धारा सूचीकरण खारेज

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सूचीकरण खारेज गरेको छ । म्युचुअल फण्ड परिपक्क भएपछि नेप्सेले सूचीकरण खारेज गरेको हो।

सामुहिक लगानी कोष नियमावली २०६७ को नियम ३१ खण्ड क मा भएको व्यवस्था अनुसार योजनाको अवधि समाप्त भएपश्चात खारेजी प्रक्रियामा लगिएको हो। एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ कात्तिक २ गते परिपक्क हुँदैछ ।

फण्डको सूचीकरण खारेजीको लागि योजना व्यवस्थापकले असोज ३० गते फण्डको इकाई कारोबारको अन्तिम मिति तोकेको थियो। जस अनुसार असोज ३० गते बिहीबार नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्र सो योजनाको प्रतिफल पाउने छन् । नेप्सेमा बिहीबार यस फन्डको अन्तिम कारोबार प्रतिइकाई १० रुपैयाँ ३४ पैसामा भएको थियो।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी सुलभ फण्ड १ को साढे ७ करोड इकाई शेयर बजारमा सूचीकृत थियो।

भदौ मसान्तमा सुलभ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ५४ पैसा रहेको छ । भदौ मसान्तमा १८ वटा सूचीकृत कम्पनीमा ५६ करोड ८७ लाख रुपैयाँ भन्दा बढी लगानी रहेको छ । बैंक मौज्दातमा ६५ करोड ९० लाख १३ हजार रुपैयाँ रहेको छ ।