राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने


नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको सो रकम एक वर्षका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा जम्मा गर्ने भएको हो ।

राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भनेको सो रकम मध्ये वाणिज्य बैंकमा ९६ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा १८ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ करोड रुपैयाँ छुट्याएको छ । केन्द्रीय बैंकले २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गतेसम्म लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

सो निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन केन्द्रीय बैंकमा बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले जसाउन १२ गतेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।

केन्द्रीय बैंकले लगानी गर्न चाहेको रकम निक्षेप राख्ने संस्थाले तोकिएको शर्त पूरा भएको हुनुपर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको संस्था मात्र यसका लागि योग्य हुनेछ ।

त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति २० प्रतिशत भन्दान कम नभएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्नेछ ।

यस्तै निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने शर्त सूचनामा तोकिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।