एशियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७९ साउन २० गते बेलुका ४ः३० बजे बसेको सञ्चालक समितिको १७३ औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७६ प्रतिशत (कर प्रयोजनको लागि १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।७८ बाट कुल ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैष्याँ लाभांश बाँड्ने प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिए । आव २०७७।७८ बाट प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गर्ने उनको भनाई छ ।

 

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अघिल्लो आव २०७६/७७ को तुलनामा ११.७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजानका लागि २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।