भारतीय सेयर बजारका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ । सन् १९६० जुलाई ५ मा जन्मिएका भारतीय सेयर बादशाह झुनझुनवालाको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।
यसअघि २–३ पटक अस्पतालबाट डिस्चार्ज भइसकेका झुनझुनवालालाई उपचारका लागि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो ।
अस्पतालले आज बिहान ६ः४५ बजे झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो ।
सेयर बादशाह समेत चिनिने झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्छ । सेयर बजारबाट पैसा कमाएपछि उनी एयरलाइन्स क्षेत्रमा पनि प्रवेश गरेका थिए ।
झुनझुनवाला गत साता मात्रै नयाँ वायुसेवा कम्पनी ‘आकासा’ एयरलाइन्समा ४० प्रतिशत सेयरका लागि २४७.५० करोड रुपैयाँ लगानी गरी उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए ।
सेयर बजारमा लगानी गरेका झुनझुनवालासँग आज हजारौं करोडको सम्पत्ति छ । उनले सेयर लगानीबाट ४६ हजार करोडको साम्राज्य बनाएका छन् । यति धेरै धनी व्यक्तिको यात्रा मात्र ५ हजार रुपैयाँबाट सुरु भएको थियो ।
भारतको दलाल स्ट्रीटका बिग बुल उनले सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा सर्ट सेलिङ्गबाट सेयर बजारबाट मनग्य नाफा आर्जन गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन, “राकेश झुनझुनवाला एक जीवन्त, हास्यास्पद र दूरदर्शी व्यक्ति थिए । उनी भारतको प्रगतिप्रति निकै उत्साहित थिए । उनको निधन अत्यन्तै दुखद छ । उनको परिवारप्रति मेरो समवेदना छ ।”
झुनझुनवालाकाे सेयर बजार यात्रा
भारतीय सेयर बजारका बिग बुल झुनझुनवाला पहिलोपटक सन् १९८५ मा सेयर बजारमा प्रवेश गरेका थिए । सुरुमा उनले ५ हजार रुपैयाँ भारु लगानी गरेर सन् १९८६ मा पहिलो नाफा कमाए । उनले टाटा टीको सेयर ४३ रुपैयाँमा किनेर तीन महिनापछि प्रतिसेयर १४३ रुपैयाँमा बेचेका थिए । त्यसपछि उनले सेयर बजारमा पछाडि फर्केर हेर्नु परेन ।
सन् १९८६ देखि १९८९ सम्म राकेश झुनझुनवालाले २ देखि २.५ करोड रुपैयाँ नाफा कमाए । यस्तै सेसा स्टारलिटले १ करोड रुपैयाँमा कम्पनीको ४ लाख सेयर किनेर यो लगानीमा पनि ठूलो नाफा कमाएको थियो ।
सन् २००३ मा झुनवालाले टाटा समूहको अर्को कम्पनी टाइटनमा लगानी गरे । यो सेयरले त झनै उनको भाग्य नै बदल्यो । उनले ३ रुपैयाँमा ६ करोड सेयर किनेका थिए । आज यसको एक कित्ता सेयरको मूल्य २ हजार ४७२ रुपैयाँ छ ।
आज राकेश झुनझुनवालाको पोर्टफोलियोमा धेरै कम्पनीको सेयर समावेश छन् । जसमा सेल, टाटा मोटर्स, टाटा कम्युनिकेसन्स, लुपिन, टीभी १८, डीबी रियल्टी, इन्डियन होटल्स, इन्डियाबुल्स हाउसिङ फाइनान्स, फेडरल बैंक, करुर वैश्य बैंक, एस्कर्ट्स लिमिटेड, टाइटन कम्पनी लगायतका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया