अलैँचीको घरेलु खपत न्यून भएकामा चिन्ता

0
Shares

‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए ।
विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरुसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि आज झापा पुगेका हुन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर छन् ।

“विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन”, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, “जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।”

विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले भने । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।

चिया, खाना, तरकारी, मासु, माछा लगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

पाँच प्रतिशत मात्र घरेलु खपत

नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताए ।

सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुबै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गर्छन् ।

महासङ्घको तथ्याङ्कअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक ७ अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ ।

अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलँैचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।

घरेलु उपभोग र बजार प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासङ्घको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताए ।

‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिनुभयो । अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी) र अलैँची व्यवसायी महासङ्घका प्रतिनिधि समेत सहभागी हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।