पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजना विकासका लागि एनएचपिसीसँग समझदारीपत्र सम्पन्न

0
Shares

नेपाल सरकार, लगानी बोर्ड र एनएचपिसीसँग लिमिटेड, गभर्मेन्ट अफ इन्डियाबीच पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी (६ जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाके उपस्थितिमा बिहीबार उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपिसीसँग लिमिटेडका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरे ।

प्रधानमन्त्रीको अप्रिल २, २०२२ मा भएको भारत भ्रमणका अवसरमा नेपालको जलविद्युत परियोजनाको विकासका लागि सहकार्य गर्ने र भारतका सम्माननीय प्रधानमन्त्री लुम्बिनी भ्रमणको अवसरमा पश्चिम सेती जस्ता महत्वपूर्ण जलविद्युत परियोजना विकासका लागि सक्षम भारतीय कम्पनीहरुलाई आमन्त्रण गरिएको थियो । सोही आमन्त्रण अनुसार नै भारत सरकारको स्वामित्वमा रहेको सरकारी कम्पनी एनएचपिसीसँग लिमिटेडले वार्ताद्वारा परियोजना विकास गर्ने स्वीकृतिका लागि अनुरोध गरेको थियो ।

राष्ट्रिय गौरवका रुपमा रहेको पश्चिम सेती तथा सेती नदी-६ परियोजनालाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ ३१ गते बसेको बैठकले वार्ताद्वारा परियोजना विकास गर्ने सम्बन्धमा एनएचपिसीसँग लिमिटेडलाई परियोजना अध्ययनका लागि स्वीकृति प्रदान गरेको थियो ।
परियोजना विकासका लागि एनएचपिसीसँग लिमिटेडसँग वार्ता गरी तयार गरिएको समझदारीपत्रको मस्यौदा लगानी बोर्डको ५२ औँ बैठकले स्वीकृत गरी उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको थियो ।

एनएचपिसीसँग लिमिटेडले समझदारीपत्रका व्यवस्था अनुसार परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवं वातावरणीय, ऊर्जा बजारको सुनिश्चिता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना दस्तावेज तयार गरी २ वर्षभित्र लगानी बोर्ड समक्ष पेश गर्नुपर्नेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री देउवाले लगानी बोर्ड र एनएचपीसीबीच बिहीबार हस्ताक्षर भएको समझदारीपत्र नेपाल र भारतबीचको उर्जा सहकार्यमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । यी उर्जा परियोजनाको कार्यान्वयनले नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए ।

परियोजना विकाससँगै विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उक्त परियोजनाहरु विकास मार्फत पश्चिम सेती करिडोरमा सडक, प्रसारण लाइन लगायतका पूर्वाधार विकासले गति लिने विश्वास व्यक्त गरे ।

एनएचपिसीसँग लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले समझदारीसँगै एनएचपीसीको नेपालसँग सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको उल्लेख गर्दै उक्त जलविद्युत परियोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।