सेयर बजारमा घट्यो उत्साह, कारोबार १.३३ अर्बमा खुम्चियो

0
Shares

सेयर बजारमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । बजारप्रति क्रेज घट्दै जाँदा दैनिक कारोबार रकम समेत घट्दै गएर एक अर्ब हाराहारीमा खुम्चिन पुगेको छ ।

यसदिन २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर २७ हजार २०२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन १ करोड ७४ लाख बढीको सेयर कारोबार भएकोमा ३९ करोडले कारोबार रकम घटेको हो ।

मंगलबार नेप्से १.८१ अंकले बढेर २०५४.९५ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिेटिभ इन्डेक्स ०.५८ अंकले बढेर ३९७.६९ मा पुगेको छ । कारोबारमा आएका १३ मध्ये ६ वटा सकारात्मक भएको छ भने ७ वटा घटेको छ । बैंकिङ्ग, ब्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक, जीवन बीमा र लगानी उपसमुहगत सूचक सामान्य बढेको हो । बाँकी सबै सामान्य घटेका छन् ।

संस्थापकहरुको तीन वर्षे लकिङ पिरियड फुकुवा भएपछि मंगलबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक १४ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको ६ लाख ११ हजार ५१६ कित्ता सेयर खरिद बिक्री भएका हुन् ।

यस्तै रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावर ५ करोड ४५ लाख, शिवम् सिमेन्टस् ४ करोड ३७ लाख, एनआईसी एशिया लघुवित्त संस्थापक ४ करोड २७ लाख र प्राइम कमर्सियल बैंकको ४ करोड ७ लाखको सेयर कारोबार भयो । सानिमा माई, नेपाल लाइफ, टेलिकम, र अरुण काबेली पावरको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको अरुण काबेलीको २ करोड ४५ लाखको सेयर कारोबार भएको हो ।

आजको बजारमा अपर हेवाखोला र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हालै मात्र दोस्रो बजारमा न्यूनतम कारोबार रेञ्जमा सेयर कारोबार खुलेकाले ती कम्पनीको सेयरमूल्यमा निरन्तर वृद्धि हुँदै आएको हो । मंगलबारको वृद्धिपछि अपर हेवाखोलाको सेयर अन्तिम पटक ३०१.२० र मन्दाकिनीको ३८२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

यस्तै रुरु जलविद्युत कम्पनीको सेयरमूल्यमा पनि आज सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेर ९०९.७० रुपैयाँ पुगेको हो ।  उता सानिमा इक्वीटी फण्डको इकाईमूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेको बजारमा एभरेष्ट बैंक कन्भर्टेबल प्रिफरेन्स सेयर ५.८४, सिटिजन्स म्युचुअल फण्ड १, लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य पनि ५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।