मिर्मिरे लघुवित्तले भदौ १५ गतेदेखि एकीकृत कारोबार थाल्दै

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर भदौ १५ गते बुधबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । दुई लघुवित्त एक भएर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

दुबै संस्थाको विशेष साधारण सभा, नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्ती प्रकृयाको अन्तिम स्वीकृति पाएपछि लघुवित्तले एकीकृत कारोबार मिति तय गरेको हो । मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्नेगरी २०७८ माघ २८ गते मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौताको साढे ६ महिनामा दुई कम्पनीबीचको मर्जर पूरा भएको हो । 

दुबै लघुवित्तको असार ३१ गते सम्पन्न गते छुट्टाछुट्टै विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने/गभिने (एक्विजिशन) सम्बन्धी विशेष प्रस्ताव प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते एक्विजिशन गर्न अन्तिम स्वीकृती दिएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ ९ गते प्राप्ती हुने संस्था बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्त गर्ने संस्था मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखाङ्कन हिसाबमा समायोजन गर्नुपर्ने गरी स्वीकृति दिएको थियो ।

एकीकृत कारोबार शुभारम्भ हुने उक्त दिन यस वित्तीय संस्थाका मातहतका सबै कार्यालयहरुमा कारोबार बन्द रहने जनाइएको छ । 

बुद्धज्योति लघुवित्त प्राप्तीपश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८, बनेपाबजार, काभ्रेपलान्चोकमा नै रहने छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०६६/६७ मा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । बागमती अञ्चल, काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर ८, बनेपा बजारमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनी रजिष्ट्रारको कार्यालयमा ११९६/२०६६/६७ नम्बरमा दर्ता रहेको छ ।

यस्तै बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९, पर्सा, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त कम्पनी रजिष्ट्रारको कार्यालयमा १६८५०२/२०७३/७४ नम्बरमा दर्ता रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।