एचआइडिसीएलको संस्थापक सेयर दोस्रो बजारमा कारोबार

0
Shares

हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को संस्थापक समुहको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा बिहीबार सूचीकृत भएको उक्त संस्थापक सेयर शुक्रबार ‘एचआइडिसीएलपी’ सिम्बोलमा कारोबारमा आएको हो । कम्पनीको सर्वसाधारण् सेयरको भने ‘एचआइडिसीएल’ सिम्बोलमा कारोबारमा हुँदै आएको छ ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक सेयर र साधारण सेयर अलग अलग संकेतमा कारोबार हुन थालेको हो । यसअघि संस्थापक सेयर कारोबार नहुँदा सर्वसाधारण सेयर मात्र कारोबार हुने गरेको थियो ।

नेप्सेले संस्थापक सेयर कारोबारको लागि समायोजित ओपनिङ्ग रेञ्ज ११३ रुपैयाँ दिएको थियो । कम्पनीको संस्थापक सेयर ११३ रुपैयाँमा कारोबार खुला भएकोमा १० प्रतिशतले सेयरमूल्य घटेर १०१.७० रुपैयाँमा झरेको छ । शुक्रबार आधा घण्टा अवधिमा ६२ हजार ६३० कित्ता संस्था सेयर ६५ लाख २७ हजार ४०३ रुपैयाँमा खरिद बिक्री भएको छ । औषतमा प्रतिसेयर १०४.२२ रुपैयाँमा उक्त सेयर कारोबार भएको छ ।

बुधबार कम्पनीले २ पटक लिलामी गरेर बिक्री गरेको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत गराएको थियो । एचआइडिसीएले लिलामी मार्फत बिक्री भएको सो बराबरको सेयर नेप्सेमा सूचीकृत गराएको हो । अझै कम्पनीको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता बिक्री हुन बाँकी छ ।

राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले आफ्ना भागमा परेको ३० प्रतिशत हिस्सा संस्थापक सेयर नकिनेपछि कम्पनीले जारी गरेको हकप्रदमा ३ करोड ३० लाख कित्ता सेयर अवितरित भएको थियो । कम्पनीको यसअघि साधारण सेयर मात्र कारोबार हुँदै आएकोमा हकप्रद सेयर ठूलो मात्रामा बिक्री नभएपछि लिलामी मार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो । सर्वसाधारणमा सेयर बिक्रीपछि संस्थापक सेयरको समेत नेप्सेमा कारोबार भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।