उपत्यकाका क्याम्पस प्रमुखले शिक्षामन्त्रीसँग भने, “हामी क्याम्पसमै सुरक्षित भएनौं।”

0
Shares

उपत्यकाका क्याम्पस प्रमुखहरुले शिक्षमन्त्रीसँग आफूहरु क्याम्पसमा सुरक्षित नभएको बताएका छन् ।

शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’ बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तरगतका क्याम्पस प्रमुखहरुसँगको छलफलमा क्याम्पस प्रमुखहरुले क्याम्पस जाँदा युद्धको मैदानमा गए जस्तो अनुभव भइरहेको बताए । ‘क्याम्पस जाँदा युद्धको मैदानमा गएजस्तो अनुभव हुन्छ’ उनीहरुले भने, ‘क्याम्पस प्रमुखलाई विभिन्न राजनीतिक दलका संगठनले चन्दाका लागि चिठी काटिरहेका हुन्छन् न दिउँ शरीरमाथि आक्रमण हुन्छ कि भन्ने लाग्छ ।’

छलफलमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति धर्मकान्त बास्कोटाले राजनीतिक खिचतानीले विश्वविद्यालय बिग्रिदै गएको आरोप लगाएका छन् । विश्वविद्यालयमा राजनीतिक दलको आडमा तालाबन्दी, नाराजुलुस हुँदै आएको बताउँदै विपक्षदलसहित मिलेर विश्वविद्यालय सुधार्न सकिने धारणा राखे ।

‘एउटा क्याम्पस प्रमुख नियुक्ति गर्दा १० ठाउँबाट नेताको फोन आउँछ,’ उनले भने , ’कसरी विश्वविद्यालय स्वायत्त हुन्छ ? कसरी सुर्धिन्छ ?’ ‘१०–१५ वर्षदेखि एउटै विद्यार्थीले विश्वविद्यालयमा नाराबाजी र तालाबन्दीको नेतृत्व गरिरहेको छ’ उनले भने, ‘कुन स्वार्थका कारण एउटा विद्यार्थी १०–१५ वर्ष क्याम्पसमा बस्छ ।’

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताए । ‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्र विन्दु हो,’ शिक्षामन्त्री पौडेलले भने,‘हामीले हल गर्न सक्ने कुराहरू हामी मिलेर हल गरौं अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौं ।’

विश्वविद्यालयमा बेथति बढ्दै गएको बताउँदै उनले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । ‘त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने तालाबन्दी सधैका लागि अन्त्य गरिनुपर्ने बताउँदै आउनुभएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने, ‘समस्याको समाधान तालाबन्दी होइन, वार्तामार्फत टुंग्याउँ नभए बल प्रयोग गरेर भएपनि तालाबन्दी खुलाउँ ।’

उनले विश्वविद्यालयका आंशिक, करार कर्मचारीहरुको समस्या समाधानका लागि अर्थमन्त्रालयसँग पहल भइरहेको बताए । ‘आंशिक तथा करार कर्मचारीहरूले स्थायी हुनुप¥यो भनेर विभिन्न संघ संगठन निर्माण गरेर आउने गर्नुृभएको छ,’ उनले भने, ‘सेवा आयोग मार्फत अन्तिम पटक आन्तरिक प्रतिस्पर्धा गराएर अरु खुल्ला प्रतिस्पर्धा मार्फत ल्याउने कुरा लागू गरौं ।’

विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा बल्र्ड बैंक, एडिभी बैंकसँग पनि छलफल भइरहेको बताउँदै त्रिचन्द्र क्याम्पसको भवन सरकारले बनाउने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार  १९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।