
लाभांश सिजनमा नै सेयर बजारप्रति लगानीकर्ता आकर्षिकत हुन नसकेको देखिएको छ । बढ्दो ब्याजदर, सेयर बजारप्रति कठोर सरकारी नीति र घट्दो लाभांशले सेयर बजारबाट लगानीकर्तालाई पलायन हुने अवस्थामा पुगेको हो ।
धेरैजसो सूचीकृत कम्पनीहरुको नाफा बढेको भएपनि पछिल्लो वर्षहरुमा राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाई गर्दै पुँजीवृद्धिमा जोड दिएकाले धेरै बैंकहरुको पुँजी बढ्दा लगानीमा प्राप्त हुने प्रतिफल भने घटेको अवस्था छ । अबौंमा नाफा देखिएपनि हात लाग्ने लाभांश थोरै हुँदा बजारप्रति आकर्षण बढ्न नसकेको हो ।
अर्कोतर्फ साउनबाटै बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको अभाव भएपछि सेयर बजारप्रति लगानीकर्ता आकर्षिक हुन सकेका छैनन् । अब धमाधम लाभांश घोषणा हुने भएकाले अहिलेको समयलाई सेयर बजारमा ‘बाली भित्र्याउने बेला’ को रुपमा समेत चित्रण गरिने गरिन्थ्यो । लाभांशको लोभमा यस समयमा लगानी गर्नेहरु बढ्दा अन्य समयको तुलनामा यो सयमा बजारमा खरिदकर्ता हाबी हुन्थ्यो । अरु समयको तुलनामा यो समय बजार पनि बढ्ने गर्दथ्यो । तर यो वर्ष विगतका वर्षहरुमा जस्तो बजारमा उत्साह देखिएको छैन ।
आइतबार २२४ कम्पनीका २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँको कारोबार भएको छ । ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर ४३ हजार ९७७ वटा संख्यामा खरिद बिक्री भएका हुन् । नेप्से सूचक ३३.३६ अंकले घटेर आइतबार १९८९.२७ विन्दुमा झरेको हो ।
आज कारोबार रकममा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको १० करोड ३१ लाख ६१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टस् ७ करोड १५ लाख, अपि पावर ६ करोड २२ लाख, हिमालयन डिष्टिलरी ६ करोड २० लाख रिडी पावर ५ करोढ ९४ लाख र राद्यी विद्युतको ५ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकम, नबिल बैंक, युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोपावर शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको हिमाल दोलखाको ४ करोड १३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएका छन् ।

आइतबार राद्यी विद्युतको सर्वाधिक ५.९० प्रतिशतले सेयरमूल्य बढेर २९८ रुपैयाँ पुगेको छ । १४७.५२ प्रतिशत हकप्रदमा मूल्य समायोजनपछि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्य उचालिएको हो । यसैगरी एनएमबि आइब्रिड फण्ड एल–१ र एनआईबिएल प्रगति फण्डको पनि ३४३ प्रतिशत बढीले मूल्य बढेको छ ।
आजको बजारबाट रुरु जलविद्युत कम्पनीको सेयर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ९३९.६० रुपैयाँमा झरेको छ । अपर हेवाखोला जलविद्युतको ७.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ६.७७, नारायणी डेभलपमेन्ट बैंक ६.७१, बलेफी हाइड्रोपावर ६.२९ प्रतिशतले घटेको छ । अपर सोलु हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र गणपति लघुवित्तको सेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ । दशौं ठूलो सेयरमूल्य घटेको गणपतिको ५.५३ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया