बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

0
Shares

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।

कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रुपमा लागेको बताइन् । मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न वजेट व्यवस्था नभएपनि वजेट अभाव हुन नदिन अर्थ मन्त्रीबाट भएको प्रतिबद्धता अनुसार कार्यालय सञ्चालनमा ल्याइएको उल्लेख गरिन् ।


जनताको दैनिक जीवनसँग जोडिएको भूमि र जग्गा प्र्रशासन सम्बन्धी सेवा प्रवाहका लागि संवैधानिक व्यवस्था अनुरुप गर्न मन्त्रालय प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले प्रविधिको माध्यमबाट भूमि र जग्गा प्रशासनमा सुशासन कायम गर्न मन्त्रालयले काम सुरु गरिसकेको पनि बताइन् ।  संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई भूमि वितरणको काम गरिरहेको उनकाे भनाइ छ ।

उनले भनिन् “अहिले वितरण गरिएको लालपूर्जा खारेज नहुने गरी कानुनी व्यवस्था मिलाइएको छ ढुक्क हुनुहोस्, प्रचार र राजनीति गर्ने भन्दा पनि तल्ला तहका नागरिकलाई अधिकार दिने र भूमिहिनको समस्या सदाका लागि अन्त्य गर्न लागि रहेका छौं, यस अघिका आयोगहरुले वितरण गरेर खारेज भएजस्तो अहिले वितरण गरेको लालपूर्जा खारेज हुदैन सवै प्रक्रिया पूरा गरेर भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण गरेका छौं ।”

जग्गा नाप्ने तर लालपूर्जा वितरण नगर्ने प्रवृत्ति अन्त्य गर्दै प्राथमिकतामा नै नपरेको गाउँव्लकको लालपूर्जा वितरणको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर सुरु गरेपछि हालसम्म गाउँब्लक, विशेष नापी र पुनः नापीबाट ५० हजारभन्दाबढी नागरिकलाई लालपूर्जा वितरण गरिसकेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढीसकेको पनि उनले जानकारी दिइन्।

मन्त्री श्रेष्ठले महिलाको संविधानमा भएको सम्पतिको समान हकको कार्यान्वयन गर्न अंशवण्डा गर्दा छोरीलाई पनि अनिवार्य उपस्थित गराउन देरभरका मालपोत कार्यालयमा निर्देशन गरी कार्यान्वयनमा ल्याइएको पनि बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार  १८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।