नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न क्षेत्रमा कुल २६ अर्ब १८ करोड ७३ लाख ४२ हजार रुपैयाँ लगानी गरेका छन् ।
पुनर्बीमा कम्पनीहरुले एक वर्षको अवधिमा गरेको कुल लगानीमा नेपाल रिको हिस्सा ७१.५७ प्रतिशत छ भने हिमालयन रिको २८.४२ प्रतिशत मात्र छ । पुरानो कम्पनी भएकाले पनि हिमालयनभन्दा नेपाल रि को लगानी रकम र क्षेत्र बढी भएको हो ।
बीमा समितिको तथ्याङ्क अनुसार गत आवमा नेपाल रिले विभिन्न ७ क्षेत्रमा कूल १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन हिमालयन रिको तुलनामा २.५२ गुणा बढी हो । गत आवमा हिमालयन रिले २ क्षेत्रमा कुल ७ अर्ब ४४ करोड ४० लाख ५१ हजार रुपैयाँ बराबरको लगानी गरेको समितिले जनाएको छ । समीक्षा अवधिमा नेपाल रिले नेपाल सरकारको बचतपत्रमा ३० करोड, ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा १४ अर्ब २ करोड ३६ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यसैगरी नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख १८ हजार रुपैयाँ, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको अग्राधिकार सेयर र ऋणपत्रमा १ अर्ब ७३ करोड ९७ लाख ९४ हजार रुपैयाँ र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । यस्तै विकास बैंकको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड ३५ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । कम्पनीले संस्थापक सेयरमा १ अर्ब ६३ लाख ३२ हजार र अन्य लगानीमा ७१ हजार गरी कुल १८ अर्ब ७४ करोड ३२ लाख ९१ हजार रुपैयाँ लगानी गरेको हो ।

पछिल्लो पटक बीमा समितिबाट पुनर्बीमाको लाइसेन्स पाएको हिमालयन रिले दुई वटा क्षेत्रमा मात्र लगानी गरेको छ । कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको अग्राधिकार सेयर तथा ऋणपत्रमा ५८ करोड ९० लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ ।
हिमालय रि–इन्स्योरेन्सले विभिन्न ५ वटा कम्पनीले आवेदन दिएकोमा चार कम्पनीलाई पाखा लगाउँदै विसं २०७८ जेठ दोस्रो साता पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) पाएको थियो । कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्वअध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, व्यवसायी सुलभ अग्रवाल (शंकर ग्रुप), केएल दुगड लगायतका व्यवसायिक घराना रहेका छन् ।
कुन क्षेत्रमा कति लगानी गर्न पाउँछन् ?
नियामक निकाय बीमा समितिले एकै क्षेत्रमा लगानी गर्दा जोखिम बढ्ने भएकाले पुनर्बीमा कम्पनीहरुलाई लगानी गर्न विभिन्न ठाउँ र सीमा समेत तोकेको छ । जसमा छुट्टा छुट्टै १२ ठाउँमा लगानी गर्नको लागि न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ४० प्रतिशतसम्म सीमा तोकिएको छ ।
जसअनुसार नेपाल सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पुर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
यसैगरी घरजग्गामा बढीमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको अग्राधिकार सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढीमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पुर्वाधारमा बढीमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत, फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा बढीमा बढीमा १० प्रतिशत र अन्य शीर्षकमा लगानी गर्ने गरेका छन् ।
बीमा समितिले विभिन्न १२ ठाउँमा लगानीको बाटो खुला गरेकोमा नेपाल रिले ७ ठाउँमा लगानी गरेपनि हिमालयन रिले भने २ ठाउँमा मात्र लगानी गरेको छ । यसले के देखाउँछ भने अझै पनि बीमा कम्पनीहरुले लगानी विविधिकरणभन्दा धेरै कमाई हुने मुद्दती निक्षेप र अधिक सुरक्षित उपकरणलाई मात्र प्राथमिकतामा पर्ने गरेको देखिएको छ । कृषि, पर्यटन, जलस्रोत लगायतका पुर्वाधारमा २० प्रतिशतसम्म लगानी गर्नसक्ने बाटो खुला भएपनि जोखिम हुनसक्ने भन्दै कुनै पनि कम्पनीको लगानी गरेको नदेखिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया