श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।
अन्तिम दिनको तथ्याङ्क समावेश नगर्दा पनि २ प्रतिशत आवेदकले मात्र सेयर पाउने अवस्था देखिएको छ भने ९८ जनाको हात खाली हुने देखिन्छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ ३६ हजार ८५९ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । हालसम्म नै १७ लाख हाराहारीको संख्यामा आवेदन परिसकेका छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्म १६ लाख ९० हजार ६३० वटा आवेदनबाट १ अर्ब ८६ करोड ६६ लाख ९१ हजार रुपैयाँ मूल्यको १ करोड ८६ लाख ६६ हजार ९१० कित्ताको माग परेको हो ।
उल्लेखित संख्या सर्वसाधारणबाट माग भएको सेयर संख्याको ५०.६४ गुणा बढी हो । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई सुरक्षित गरी सर्वसाधारण लगानीकर्ताबाट ३ लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि आह्वान गरेको थियो ।
भदौ १५ गते बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा लगानीकर्ताले आज भदौ १९ गते आइतबार कार्यालयसम्म मात्र आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था भएपनि गोलाप्रथाबाट सेयर वितरण गर्नुपर्ने अवस्थाका कारण १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ ।
इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया