छायाँदेवी कम्प्लेक्सले ल्याउने भयो आईपीओ, पुँजी वृद्धि प्रस्ताव पारित गर्दै

0
Shares

छायाँदेवी कम्प्लेक्स पब्लिक लिमिटेडले प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) जारी गर्न पुँजी वृद्धि प्रस्ताव पारित गर्ने भएको छ ।

असोज १२ गते आह्वान गरिएको संयुक्त साधारण सभा (चौधौं र पन्ध्रौं) मा आईपीओ जारी गर्नका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव लैजाने भएको हाे ।

विभिन्न ८ प्रस्ताव पारित गर्न लागेको कम्पनीले छैटौ प्रस्तावमा पुँजीवृद्धि राखेको छ ।

काठमाडौंको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँचतारे होटेल र मेगा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले आईपीओ निष्कासन गर्न यसअघि नै प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।

छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको छ । सभाबाट पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति पाएपछि मात्र सेयर सर्वसाधारणमा जारी हुनेछ ।

सभामा आव २०७७/७८ र २०७८/७९ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति गठन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने र कम्पनी सचिव नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु समेत रहेका छन् ।

कम्पनीले एलफ्ट होटल ठमेल काठमाडौंमा असोज १२ गते दिउँसो १ बजे सभा आह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।