नेप्से बुधबार पनि दोहोरो अंकले घट्यो, म्युचुअल फण्डको इकाईमा आकर्षण

0
Shares

सेयर बजारमा निरन्तरको नेप्सेमा देखिएको वियरिसको प्रवृत्तिले बजारप्रति आकर्षण घट्दा कारोबार संख्या र रकम दुबै घट्न थालेको छ । दैनिक कारोबार रकम पौने एक अर्बमा खुम्चिँदा सेयर बजारमा रौनकता हराएको छ ।

सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ । ठूला कम्पनीकोे कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स १.७० अंकले घटेर ३७७.३८ बिन्दुमा झरेको छ । बुधबार ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन २२४ कम्पनीका २९ लाख ४३ हजार ७६९ वटा संख्यामा खरिद बिक्री भएका छन् ।

बजार सुस्त हुँदा अंकित मूल्यभन्दा २० प्रतिशतभन्दा बढीले घटेको म्चुचुअल फण्डमा भने लगानीकर्ता आकर्षिक देखिएका छन् । जसले पछिल्लो दुई दिन कारोबारमा आएका सबै उपसमुहगत सूचक घटेपनि म्युचुअल फण्डको सूचक भने सकारात्मक देखिएको छ । मंगलबार र बुधबार म्युचुअल फण्डको सूचक हरियाली रह्यो ।

प्राथमिक बजारमा नै दश रुपैयाँमा किन्नुपर्ने फण्डको इकाई दोस्रो बजारमा ८ रुपैयाँमा छानीछानी खरिद गर्न पाउने भएपछि ती फण्डको इकाईमूल्य बढेको हो । शीर्ष कारोबार बढेका दश स्क्रिप्टमा सात म्युचुअल फण्डका रहेका छन् ।

बुधबारको बजारमा सनराइज फस्टको इकाईमूल्य सर्वाधिक ७.७२ प्रतिशतले बढ्दा अपर हेवाखोलाको सेयरमूल्य ६.३८ प्रतिशत, लक्ष्मी उन्नति कोष ५.१० प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ५ प्रतिशतले बढेको छ । यसैगरी एनआईसी एशिया ग्रोथ फण्ड ४.०९, सिटिजन्स म्युचुअल फण्ड १ को ४.०७, एनआईबिएल प्रगति फण्ड ४.०७ र लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य २.७० प्रतिशतले बढेको हो ।

आजको बजारमा प्राइम डिबेञ्चर ८८ को मूल्य सर्वाधिक ५.८८ प्रतिशतले घटेको छ । उन्नति सहकार्य लघुवित्त ५.०९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४.४५, ग्रीन भेञ्चर ३.८३, समता घरेलु लघुवित्त ३.५६, नबिल इक्वीटी फण्ड ३.३५, सिद्धार्थ इन्भेष्टमेन्ट फण्ड–२ को इकाईमूल्य ३.३२ र युनाइटेड इदिमार्दी एण्ड आरबि हाइड्रोपावरको सेयरमूल्य ३.३० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका बाह्रवटै उपसमुहगत सूचक घटेका छन् । ब्यापार सर्वाधिक २.४३ प्रतिशतले घट्दा विकास बैंक र लगानी सूचक १ प्रतिशतले घटेको छ । म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमका सर्वाधिक ५ करोड १५ लाखको कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६१ लाख र रिडी पावरको ३ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । नेष्डो समृद्ध, नबिल बैंक, अपि पावर, एनआईसी एशिया बैंक, सानिमा माई हाइड्रोपावर, फरवार्ड लघुवित्त र शिवम् सिमेन्टस शीर्ष दश कम्पनीमा समेटिएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।