राष्ट्रिय बीमा कम्पनीको सीईओमा शेखर बराल नियुक्त

0
Shares

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्त भएका छन् ।  कम्पनी सञ्चालक समितिको बैठकले बराललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तीको चयन प्रकृया अगाडि बढाएको थियो । विगतमा कम्पनीमा अर्थ मन्त्रालयको ठाडो नियुक्तिमा चल्दै आएकोमा अहिले छनोट समिति बनाएर खुल्ला रुपमा सीईओ नियुक्त गरिएको हो ।

अन्तिम तीन जनामा सर्टलिष्टिङ भएका बराल दुई प्रतिस्पर्धीलाई पाखा लगाउँदै सीईओ चयन भएका हुन् । बराल नियुक्त भएसँगै राष्ट्रिय बीमा संस्थाका पूर्वप्रशासक रामबहादुर खड्का र अजोड इन्स्योरेन्सका पूर्वडीसीईओ तथा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासक भएर दुई बर्षभन्दा बढी काम गरेको सुरेन्द्र थापा भने रिङबाट बाहिरिएका छन् ।  

नवनियुक्त बरालसँग बैंक वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरिसकेका छन् ।

सीईओमा बराललाई नियुक्ति गर्ने निर्णय अब कम्पनीले बीमा समितिमा पत्राचार गर्ने र समितिबाट स्वीकृति प्राप्त भएपछि उनले कार्यभार सम्हाल्ने छन् । राष्ट्रिय बीमा कम्पनी डा. डिल्लीराज अर्याल विदा भएसँगै सीईओविहीन रहँदै आएको थियो । सरकारी स्वामित्वको उक्त कम्पनीमा हाल अर्थ मन्त्रालयका सह-सचिव ज्ञानेन्द्र ओझाले सीईओको कार्यभार सम्हाल्दै आइरहेका छन् ।

बराललाई लामो समयदेखिको मिल्न नसकेको हरहिसाव मिलाएर लेखापरीक्षण गर्नुपर्ने ठूलो चुनौति छ ।

कम्पनीको सीईओ लागि गत मंसिर १२ मा सूचना प्रकाशित भएको थियो ।सिफारिस गर्न अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । सीईओ पदका लागि ११ जनाले आवेदन दिएकोमा बराल, थापा र खड्का सिफारिसमा परेका थिए । वरिष्मा साउद आचार्य, बुद्धकाजी श्रेष्ठ, सुकल्याण पराजुली, तोयराज अधिकारी, शेरजंग कार्की, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोजसिंह भण्डारीले पनि सीईओका लागि आवेदन दिएका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।