दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० सम्म साट्न सकिने

0
Shares

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वका लागि बुधबारदेखि नयाँ नोट साट्न थालेको छ ।

केन्द्रीय कार्यालय बालुवाटारबाट आजदेखि नयाँ नोट साट्न थालेपनि उपत्यका बाहिर भने असोज २ गते आइतबारदेखि मात्र सटही सुविधा पाउनेछन् । राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार गत वर्षहरुमा जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबरको नयाँ नोट सटही गर्न सक्नेछन् । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका एक।एक वटा बन्डल नोटको सीमा तोकिएको छ ।

भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिन थालेको हो ।

राष्ट्र बैंकका अलवा तीन सरकारी बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले पनि भदौ २९ गते बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण सुरु गरेका छन् । अन्य निजी बैंक तथा वित्तीय संस्थाले पनि बुधबारदेखि नयाँ नोट वितरण गर्नेछन् ।

मंगलबारसम्म बैंकहरुले २ अर्ब रुपैयाँ बराबर नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती प्रसाद नेपालले बताए । राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

नगद कारोबारलाई निरुत्साहित गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने योजना अनुरुप नीति तथा कार्यक्रम अगाडि बढाइएकाले नयाँ नोट वितरणमा प्रचारप्रसार नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।