पछिल्लो २ दिनमा नै यसअघि लगातर ६ दिन घटेको सेयर बजार बाउन्स ब्याक भएको छ । भदौ २८ गते मंगलबार र २९ गते बुधबार गरी नेप्से ६८ अंकले बढेको हो । यसअघि भदौ २० देखि २७ सम्म ६ करोबार दिनमा नेप्से ६४ अंकले ओरालो लागेको थियो ।
भदौ २८ गते मंगलबार २१ अंकले बढेपछि बुधबारको बजारमा लगानीकर्ताले लगानी बढाएकाले बजार करिब आधा शतकले बढेको हो ।
बुधबार नेप्से एकैदिन ४७.४४ अंकले बढेको छ । यसअघि गत साउन ३० गते नेप्से ५५.८८ अंकले बढेपछि यो लबेलको वृद्धि नेप्सेमा आएको थिएन ।
बुधबार ४७.४४ अंकको वृद्धिसँगै नेप्से १९८१.४८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेर ३८५.३६ बिन्दुमा अडिएको छ । बजार सकारात्मक भएसँगै कारोबार रकम पनि बढेको छ ।
नेप्से लगातार छैटौं दिन घट्यो, सोमबार पनि दोहोरो अंकको गिरावट
बुधबार २२७ कम्पनीका ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार ९२ करोड २५ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सबै उपसमूहगत परिसूचकमा हरियाली
आज सबै उपसमूहगत परिसूचकमा हरियाली छाएको छ । फाइनान्स सर्वाधिक ५.९३ प्रतिशतले बढेको छ । व्यापार ५.७५ प्रतिशत, विकास बैंक ४.६२ प्रतिशत, जलविद्युतको ३.६२ प्रतिशतले बढेको छ ।
होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधनमुलक, अन्य, लघुवित्त र लगानी २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमामा १ प्रतिशतभन्दा बढी सुधार आएको छ ।
नबिल बैंकको सर्वाधिक कारोबार
नबिल बैंक कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । बैंकको ६.५१ करोडको सेयर खरिद बिक्री भएको छ । गोर्खाज फाइनान्स ४.५७ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्स ४.३४ करोड र अपि पावरको ४.२९ करोडको सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरी ३.९२ करोड, रिडी पावर ३.७२ करोड र नेष्डो समृद्ध लघुवित्तको ३.१८ करोडको सेयर कारोबारमा आएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट
बुधबारको बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकका लगानीकर्ताले प्रतिसेयर २४.९० रुपैयाँका दरले कमाउँदै सेयरमूल्य २७३.९० रुपैयाँ पुगेको छ ।
यस्तै लिबर्टी इनर्जी ८.३२, युनाइटड मोदी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त ७.८०, गोर्खाज फाइनान्स ७.७२, नेपाल फाइनान्स ६.९५, सिन्धु विकास बैंक ६.८३, समृद्धि फाइनान्स ६.७९, दिब्यश्वरी हाइड्रोपावर ६.७५ र ङादी ग्रुप पावरको ६.६९ प्रतिशतले बढेको छ ।
एनआईसी एशिया फ्लेक्सी क्यापका लगानीकर्ताले सर्वाधिक गुमाए
आज बजारमा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य नकारात्मक सर्किट लागेर घटेको छ । दश प्रतिशतले घट्दै फण्डको मूल्य ९ रुपैयाँमा झरेको छ । एनआईबिएल प्रगति फण्ड ८.९५, सनराइज फस्ट ७.६७, सानिमा लार्ज क्याप फण्ड ३.१९ र मैलुङ्ग खोला जलविद्युत २.६५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया