खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि थाल्यो ४१ जिल्लाको ४५ स्थानमा सुपथ मूल्य पसल

0
Shares

सरकारी स्वामित्वमा रहेको  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि ४१ जिल्लाका ४५ स्थानमा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनामा ल्याएको छ ।

खाद्यले उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु र भक्तपुरमा गरी चार स्थान सहित कुल देशभरका ४५ स्थानमा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न वितरण थालेकाे हाे । असोज १ गतेदेखि सञ्चालन भएको उक्त सुपथ पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली स्थित कार्यालयमा एक कार्यक्रमका बीच सुपथ मूल्य पसलको सुरुवात गरेका छन् । अन्य जिल्लामा सम्बन्त्रीत जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट सुपथ मूल्यको थालनी गरिएको कम्पनीले जनाएको छ ।

चाडपर्वमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलमा जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ ।

यस्तै चामल, दाल, आटा, पिठो, मैदा, तेल, चिउरामा प्रतिकेजी ७ रुपैयाँ र नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिएको छ । यस्तै खाद्यबाट वितरण हुने डीडीसी घिउ प्रतिकेजीमा ६० रुपैयाँ, पनिर र चिज प्रतिकेजीमा २० रुपैयाँ र दही प्रतिकेजीमा १० रुपैयाँ छुट दिइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष काठमाडौं उपत्यकाभित्र अनलाईन मार्फत खाद्यान्नको निःशुल्क डेलिभरी समेत दिने भएको छ । हाललाई उपत्यकाको चक्रपथ भित्र र चक्रपथ बाहिर १ किलोमिटर मोटर बाटो भएको स्थानसम्म मात्र खाद्यान्न डेलिभरी दिनेछ । खाद्यान्न अर्डर कन्फर्म गरेको १ दिनभित्र डेलिभरी दिइसक्ने कम्पनीले जनाएको छ । एक ग्राहकले कम्तिमा २ हजार रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्मको अर्डर गर्न सक्नेछन् ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अलवा साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले पनि संयुक्त रूपमा सुपथ पसल सञ्चालनमा ल्याउनेछन् । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र ट्रेडिङ कर्पोरेसनलाई एक करोड रुपैयाँ छुट्याएको मन्त्रालयले जनाएको छ । उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ, त्यति सरकारले शोधभर्ना बापत उपलब्ध गराउने गर्छ ।

तीन हजार खसीबोका ल्याइने,प्रतिकेजी १० रुपैयाँ छुट दिने 

हरेक वर्ष दशैँमा जस्तै यो वर्ष पनि सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने भएको छ ।

कम्पनीले तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गरेर बजार मूल्यभन्दा सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने भएको हो । दशैँमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न खाद्य कम्पनीले खसीबोका ल्याउन लागेको कम्पनीले जनाएको छ ।

दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुन्छ, निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गर्न सक्ने हुँदा बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको हो ।

उपभोक्तालाई राहत तथा बजार हस्तक्षेपका लागि खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँ छुट दिने भएको छ । यसका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका नायब महाप्रबन्धक श्री मणिराज खनालले जानकारी दिए ।

खाद्यले हरेक वर्षको दशैंमा प्रत्येक वर्ष विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी काठमाडौँमा ल्याएर खसीबोका र च्याङ्ग्रा बेच्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।