१५०० मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए खुलाउने कुलमान घिसिङको आश्वासन


नेपाल विद्युत प्राधिकरणले झण्डै साढे ३ वर्षदेखि स्थगन गरिएको विद्युत खरिदबिक्री सम्झौता पुनः खुलाउने आश्वासन विद्युत उत्पादकहरुलाई दिएको छ ।

विद्युत उत्पादकहरुसँगको छलफलका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी प्रवाहमा आधारित (रन अफ रिभर, आरओआर) प्रकृतिका आयोजनाको विद्युत अरिद बिक्री बिक्री सम्झौता खुलाउने आश्वासन दिएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) को प्रतिनिधिमण्डलसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले केही दिनमा १ हजार ५०० मेगावाट क्षमताका आरओआर प्रकृतिका जलविद्युत आयोजनाको पीपीए खुलाउने आश्वासन दिएको ईप्पानले जनाएको छ ।

ईप्पान पदाधिकारीसँग आइतबार भएको भेटका क्रममा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको र बोर्डको आगामी बैठकले निर्णय लिने आश्वासन दिएको ईप्पानले जनाएको छ ।

क्यु ४० मा डिजाइन हुने गरी आरओआरको पीपीए खोल्न लागिएको बताउँदै कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने प्राबधान राखिने घिसिङले बताएको ईप्पान अध्यक्ष कृष्ण्प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ईप्पानले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगको भेटका क्रममा पीपीएको प्रक्रिया सुरु हुने सम्बन्धमा जानकारी गराउन लिखित माग गरेपछि घिसिङले यस्तो आश्वासन दिएका हुन् ।

ईप्पानले जलबिद्युत आयोजनाको बिकास, सर्वेक्षण एबम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा बिद्युत खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत ब्यवस्था सम्बन्धी प्रतिबेदन, २०७९ ले गरेको व्यवस्था अनुसार प्राधिकरणले पीपीए नखुलाएको ईप्पानको आरोप छ । बिगत साढे तीन बर्षदेखि रोकिएको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने ब्यवस्था प्रतिबेदनले गरे पनि आजसम्म पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेको भन्दै ईप्पानले घिसिङसँग लिखित रुपमा जानकारी मागेको हो ।

“उक्त प्रतिबेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको छ,” ईप्पानले भनेको छ ।

पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिकरुपमा जानकारी माग गरे पनि ईप्पान नै यस बिषयमा प्रष्ट हुन नसक्दा जवाफ दिन नसकिएको पनि ईप्पानले जनाएको छ । यही अवस्थालाई ध्यानमा राखेर आफुहरुले पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी दिन प्राधिकरणसँग ईप्पानले माग गरेको हो ।

ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिब गोरे शेर्पा, सचिबहरु बलराम खतिवडा, सदस्य उत्तम ब्लोन लामा सहितको टोलीले घिसिङसँग भेट गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।