सरकार र नियामक निकायहरूको बेवास्ताले सेयर बजार निरन्तर घटेर असोज ४ गते मंगलबार नेप्से १८३७.६० बिन्दुमा झरेको छ । बैङ्किङ प्रणालीमा देखिएको तरलता संकुचन र लगानीयोग्य तरलता अभावका कारण ब्याजदर उच्च हुँदा त्यसको शिकार सेयर बजार भएको हो ।

अर्कोतर्फ सरकार र नेपाल धितोपत्र बोर्डले सेयर बजारप्रति लिएको नीतिका कारण समेत बजार प्यानिक हुँदै आएको छ । बजार थोरै बढ्ने बित्तिकै सर्तक भएर लगानी गर्न लगानीकर्तालाई सर्तक गराउने धितोपत्र बोर्डले घट्दो बजारबारे कुनैपनि प्रतिक्रिया देखाएको छैन ।
धितोपत्र बजारलाई विकास र विस्तारमा कछुवा गतिमा अगाडि बढ्दै आएको धितोपत्र बोर्ड अहिलेको बजारलाई स्थायि बनाउनभन्दा नयाँ इजाजत बाँड्न लागेको छ । केही दिन अघि मात्र बोर्डले नयाँ स्टक एक्सचेन्ज‚ ब्रोकर र कमोडिटी मार्केटको इजाजत दिने सूचना जारी गरेको छ ।
मंगलबार नेप्से २.०७ प्रतिशत अर्थात १८.८१ अंक घट्दा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.९१ प्रतिशत (७ अंक) घटेर ३५८.८७ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै उप-समुहगत सूचक राताम्मे भएका छन् । फाइनान्स सर्वाधिक ३.८७ प्रतिशत घट्दा जलविद्युत‚ विकास बैंक र लगानी सूचक पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
यस दिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ५ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावर ५.३५ करोड‚ नबिल बैंक ४.७३ करोड‚ अरुण काबेली पावरको ३.२६ करोड र अपि पावरको ३.०४ करोडको सेयर खरिद बिक्री भयो ।

मंगलबार स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशतले बढेको छ । यस्तै एनएमबि-५० को इकाईमूल्य ३.८७‚ कृषि विकास बैंक २ प्रतिशत‚ तेह्रथुम पावर १.९१ प्रतिशत र सिभिल लघुवित्तको सेयरमूल्य १.३८ प्रतिशतले बढेको छ ।
आजको बजारबाट कालिका पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेर ३००.६० रुपैयाँमा झरेको छ । यस्तै बरुण हाइड्रोपावर ८.१९‚ ग्रीन डेभलपमेन्ट बैंक ७.९४‚ समृद्धि फाइनान्स ६.७२‚ अपर सोलु हाइड्रोपावरको सेयर मूलय ६.५६ प्रतिशतले घटेको छ ।
कारोबार कित्ताका आधारमा सानिमा इक्विटी फन्डको १ लाख ६८ हजार ६०० इकाई खरिद बिक्री भएको छ । कारोबार सङ्ख्याका आधारमा नबिल बैंकको १ हजार ४ वटा सङ्ख्यामा कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया