चार बैंकको संस्थागत निक्षेप राष्ट्र बैंकको निर्देशन विपरीत, प्राइमको सबैभन्दा धेरै

0
Shares

सञ्चालनमा रहेका चार वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नियम विपरित संस्थागत निक्षेप लिएका छन् । ती बैंकहरुले राष्ट्र बैंकले तोकेको ५० प्रतिशतको सीमा भन्दा धेरै संस्थागत निक्षेप लिएका हुन् ।

राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि संस्थागत निक्षेप लिनेमा प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, हिमालयन बैंक र कुमारी बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले कुल निक्षेपको ५० प्रतिशत भन्दा धेरै नहुने गरी संस्थागत निक्षेप लिन पाउँछन् । तर, ती बैंकहरुको सबैको संस्थागत निक्षेप ५० प्रतिशत भन्दा माथि रहेको छ ।

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार बैंक वित्तीय संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउँछन् ।

बैंक वित्तीय संस्थाको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन ।

वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त “ख” तथा “ग” वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले निर्देशनहरुको परिपालना भए नभएको विस्तृत हेर्ने क्रममा रहेको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । “परिपालना हेर्ने क्रममा तोकिएको सीमाभन्दा माथि संस्थागत निक्षेप भएका बैंकहरुलाई कानुन अनुसारको कारबाही हुन्छ,” उनले भने । बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार सचेत गराउने वा लिखित चेतावनी दिने, सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने, यो ऐन वा राष्ट्र बैंक ऐन वा सोअन्तर्गत जारी गरिएका नियम, विनियम, निर्देशन वा आदेशको उल्लंघन नगर्न वा सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्न सक्नेछ ।

त्यसैगरी बैंक वा वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई दिने लाभांशको वितरण वा बोनस शेयर जारी गर्न वा लाभांश वितरण वा बोनस सेयर जारी गर्ने कार्यमा प्रतिबन्ध लगाउन समेत सक्नेछ । राष्ट्र बैंकको निर्देशन पालना नगर्ने बैंकलाई स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जा वा निक्षेप स्वीकार गर्न वा कर्जा दिने कार्यमा सीमा तोक्ने वा प्रतिबन्ध लगाउने तथा कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था रहेको छ ।

Commercial Bank  Public Deposit in Mn
Total Deposit in Mn
Public Deposit % Institutional Deposits %
Prime Commercial Bank  74266.00 165418.00 44.90 55.10
Nepal Credit and Commerce Bank  66290.00 141486.00 46.85 53.15
Kumari Bank 86679.00 182962.00 47.38 52.62
Himalayan Bank 85532.00 171488.00 49.88 50.12
Nabil Bank 168109.00 329571.00 51.01 48.99
Standard Chartered Bank Nepal   52806.00 101946.00 51.80 48.20
Bank of Kathmandu  59226.00 110962.00 53.38 46.62
Nepal Investment Bank 103449.00 186212.00 55.55 44.45
Nepal SBI Bank  68146.00 119658.00 56.95 43.05
NIC Asia Bank  171610.00 294977.00 58.18 41.82
Siddharth Bank  114733.00 196484.00 58.39 41.61
Prabhu Bank  106837.00 182141.00 58.66 41.34
Citizens Bank International  91248.00 155140.00 58.82 41.18
Grand Total 2708238.00 4544362.00 59.60 40.40
NMB Bank  113865.00 186400.00 61.09 38.91
Machhapuchhre Bank  92188.00 148698.00 62.00 38.00
Global IME Bank  177992.00 286560.00 62.11 37.89
Sanima Bank  99720.00 158883.00 62.76 37.24
Laxmi Bank  88169.00 139945.00 63.00 37.00
Everest Bank  109659.00 173472.00 63.21 36.79
Sunrise Bank   85374.00 134783.00 63.34 36.66
Mega Bank Nepal  100284.00 156488.00 64.08 35.92
Agricultural Development Bank 107405.00 166711.00 64.43 35.57
Rastriya Banijya Bank  177459.00 259381.00 68.42 31.58
Civil Bank  67694.00 96039.00 70.49 29.51
Century Commercial Bank  76686.00 101402.00 75.63 24.37
Nepal Bank  162810.00 197155.00 82.58 17.42

 

केन्द्रीय बैंकको निर्देशन विपरीत सबैभन्दा धेरै संस्थागत निक्षेप लिनेमा प्राइम कमर्सियल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कुल  निक्षेपमा संस्थागत निक्षेपको अंश ५५.१० प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा प्राइम कमर्सियल बैंकको कुल निक्षेप १६५ अर्ब ४१ करोड रुपैयाँ छ । यो निक्षेपमा सर्वसाधारण निक्षेपकर्ताको पैसा ७४ अर्ब २६ करोड रुपैयाँ मात्र छ ।

त्यसैगरी एनसीसी बैंकले गत आर्थिक वर्षमा लिएको कुल निक्षेपमा संस्थागतको हिस्सा ५३.१४७३ प्रतिशत रहेको छ । २०७९ असार अन्तिसम्ममा बैंकले १४१ अर्ब ४८ करोड रुपैयाँ कुल निक्षेप लिएको छ । यसमा सर्वसाधारण निक्षेपको अंश ४७ प्रतिशत अर्थात ६६ अर्ब २९ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै संस्थागत निक्षेप लिनेमा कुमारी बैंक पनि रहेको छ । बैंकले केन्द्रीय बैंकले तोकेभन्दा ३ प्रतिशत विन्दुले धेरै संस्थागत निक्षेप लिएको छ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप १८२ अर्ब ९६ करोड रहेको छ । यो निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ५२.६३ प्रतिशत र सर्वसाधारणको ४७.३७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा हिमालयन बैंकले पनि तोकिएको सीमाभन्दा धेरै संस्थागत निक्षेप लिएको छ । गत असारसम्म बैंकको कुल निक्षेपमा संस्थागतको हिस्सा करिब ५१ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको कुल निक्षेप १७१ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा सर्वसाधारणको ८५ अर्ब ८३ करोड रुपैयाँ मात्र छ ।

गत आवमा ९ वाणिज्य बैंकको संस्थागत निक्षेप ५० प्रतिशत भन्दा तल रहेको छ । त्यसैगरी १० बैंकहरुको सर्वसाधारणको निक्षेप हिस्सा कुल निक्षेपमा ६० प्रतिशतभन्दा धेरै रहेको छ । दुई बैंकको भने सर्वसाधारणको निक्षेप ७० प्रतिशत भन्दा धेरै छ । तर, नेपाल बैंकको भने सर्वसाधारण निक्षेपको हिस्सा सबैभन्दा धेरै रहेको छ । बैंकले गत आवमा लिएको कुल निक्षेप मध्ये ८२.५७ प्रतिशत सर्वसाधारण रहेको छ । बैंक वित्तीय संस्थामा संस्थागत भन्दा पनि सर्वसाधारणको निक्षेप धेरै हुनु राम्रो मानिन्छ । सर्वसाधारणको निक्षेप धेरै भएको संस्थाको तरलता अवस्था धेरै सहज हुने बैंकहरु बताउँछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।