इसेवाको ‘मेरो डिजिटल देश’ अभियान, रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका

0
Shares

इसेवा मनी ट्रान्सफरले शुक्रबारदेखि “मेरो डिजिटल देश” अभियान ल्याएको छ ।  मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवाले एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो ।

अभियानमा सहभागिमध्ये बम्परमा एक जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्नेछन् भने मासिक एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज प्राप्त गर्नेछन् ।

“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोहीले पनि सहभागिता जनाउन सक्नेछन् ।

योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

अभियान असोज ७ गतेदेखि सुरु भएर फागुन ६ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । इसेवा मनी ट्रान्सफरले संसारका २०० भन्दा बढी देशबाट छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको छ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन योगदान गर्दै आइरहेको छ ।

वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएर आर्थिक उन्नतिमा योगदान पुर्‍याउन आग्रह

कार्यक्रम मार्फत इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन अपिल गरेका छन् ।

विश्वभर भएका नेपालीहरुलाई देश डिजिटल बनाउने अभियानमा जोड्न “मेरो डिजिटल देश” सुरु गरेको उनले बताए । खनालले आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न नसक्ने र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सबै नेपालीको योगदान उत्तिकै महत्वपूर्ण भएपनि नेपाली अर्थतन्त्रकै महत्वपूर्ण हिस्सा रेमिट्यान्स रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनिय हुने उल्लेख गरे ।

उनले भने, ‘इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल कारोबारका लागि समर्पित रहँदै आएको सबैलाई अवगत नै छ ।’

त्यस्तै, अभियानबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले ६ महिने अभियानका दौरानमा विश्वका विभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यति ठूलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरु मध्ये केहिलाई विशेष रुपमा सम्मान गर्ने बताए । उनले भने, “रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशत भन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रीत हुनेछ । विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु अभियानमा सहभागि भई देश डिजिटल बनाउनमा योगदान पुर्‍याउनेमा हामी विश्वस्त छौं ।”

मेरो डिजिटल देश अभियानमा नेपाली सिने जगतका महानायक राजेश हमाल समेत जोडिएका छन् । उनी अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवद्र्धनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।