नेपाललाई कोरियाले २ अर्ब अनुदान सहायता उपलब्ध गराउने, दुई सम्झौतामा हस्ताक्षर

0
Shares

गणतन्त्र कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा नेपाल र कोरियाबीच हस्ताक्षर सम्पन्न भएको छ । कोरिया सरकारले प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले सहयोग उपलब्ध गराउने भएको हो ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले “कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने” र ‘नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना’ गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत चोङ(सुक पार्कले हस्ताक्षर गरेका छन् । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्नेछ ।

कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक९आर्थिक विकासमा योगदान पुर्याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनः एकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ। आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनको लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ ।

त्यसैगरी साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ ।

सो समारोहमा अर्थ सचिव कृष्णहरि पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर ब्यूरोलाई सक्षम र सुसज्जित बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई आफ्नो समाजमा स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि यी दुई परियोजना महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे।

कार्यक्रममा महामहिम राजदुत चोङसुक पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । त्यसैगरी, महामहिम राजदुत पार्कले कोरियाबाट फर्किएका आप्रवासी सम्बन्धी आयोजना मार्फत ठूलो संख्यामा कोरियाबाट फर्किएकाले आफ्नो सीपलाई उपयोग गरी उद्यम स्थापना मार्फत रोजगारी सिर्जना गरी देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्ने बताए ।

नेपाल सरकारले यो आर्थिक सहयोगका साथै नेपाललाई प्रदान गरिएको अन्य सहयोगका लागि कोरियाली गणतन्त्र सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार  १८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।