महगिँदै फिल्म, फिल्मप्रति विस्वस्थ नभएसम्म दर्शक हलसम्म पुग्न छाडे

0
Shares

कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप¥यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् ।

साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टार लगायतमा रमाउन थालेका छन् ।

फिल्म हल पुग्ने समय र खर्चले ओटिटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटिटीको प्रभाव नभए तापनि फिल्म हेराई महँगिएपछि दर्शक घट्दै गएको पाइयो । सुरुआती व्यापार आक्रामक गर्ने कलाकारको फिल्ममा नै दर्शक देखिएनन् । ‘वर्ड अफ माउथ’ बलियो नभएसम्म दर्शक हलसम्म नपुग्नाले अपेक्षा गरिएका धेरै फिल्म असफल भए ।

प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ ले न्यून सुरुआत ग¥यो । उनले अभिनय गरेको पछिल्लो फिल्मको तथ्याङ्क हेर्ने हो भने सुरुआती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको सङ्ख्यामा घटबढ त हुन्छ । यसपटक दर्शक सुरुमै आएनन् । यसपटक प्रदीप आफ्नो ‘स्टारडम’को छायाँबाट निस्किएर ‘प्रकाश’ बनेका थिए । जुम्लाको एक गाउँले युवकमा उनलाई देखियो । उनको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन । जसका कारण कारण दर्शक नै आएनन् ।

अभिनेता खगेद्र लामिछानेको टल्क जङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जितेका छन् । उनीप्रति एउटा वर्ग विश्वस्त छ । उनले उठान गर्ने विषयवस्तु ‘अर्गानिक’ हुने गरेको दर्शकहरुको टिप्पणी छ । उनी ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आए । रचनात्मक पक्षमा आफैँले मूल्याङ्कन गरेर तयार गरेको फिल्म हेर्नेको सङ्ख्या न्यून छ ।

गत साउनमा प्रदर्शन भएका फिल्मले गरेको व्यवसाय न्यून छ । प्रदर्शित फिल्मले प्रचार–प्रसार गरेबापतको खर्च समेत उठाउन सकेन् । दर्शक हलमा आएर राम्रो नराम्रो प्रतिक्रिया दिए पनि हलसम्मै नआएका फिल्मले यो क्षति व्यहोर्नुप¥यो । अभिनेताका रुपमा आफ्नो पहिचान स्थापित गरेका सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’ मार्फत निर्माता बने । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उनले बताउँछन् ।

चरित्र बाच्ने अभिनेताका रुपमा दर्शकले स्वीकारेका सौगात पनि असफल भए । उनको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गरेको रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आएनन् । यी उदाहरण मात्र हुन् । कबड्डी ४ बाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन ।

‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ ले हलमा गरेको व्यापारसँगै विदेश राइट्स्, डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुन सक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा, आरआरआर, केजीएफ च्याप्टर २ बाहेक बलिउडको दुई÷तीन फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए । अक्षय कुमार, आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ ।

लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउँछन् । प्राय शुक्रबारदेखि शनिबारसम्ममा प्रदर्शन भएका फिल्म हेरिसक्ने भारद्वाज टिकट दरभन्दा पनि खानेकुरा महङ्गिएको बताउँछन् । ‘‘फिल्म हेर्न जाँदा जति खर्च टिकटमा हुन्छ त्यो भन्दाबढी खानेकुरामा हुने गरेको छ टिकट, पार्किङ, कफी र पपकर्नको जोड्ने हो भने १ हजार हाराहारीमा पर्न सक्छ । जसले दर्शक फिल्म प्रति विस्वथ नभएसम्म हलसम्म आएका छैनन”, उनले भने ।

भारतमा भने ओटिटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाइ बताउँछन् । “हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटिटी अप्सन पाएका छौं । हल रिलिज भएको आठ हप्ताभित्रमा ओटिटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाई यस्तै छ”, उनले भने । निर्देशक देसाइले आफ्नै ड्राइभरको उदाहरण दिँदै भने, ‘‘मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्नुहुन्थ्यो । अहिले मोवाईलमा ओटिटी आएको फिल्म हेरेको पाउँछु । उहाँ बिदामा हल जानुहुन्थ्यो फिल्म हेर्न तर अहिले ओटिटी आइहाल्छ नी भनेर त्यो बिदा परिवारसँग घरमै सदुपयोग गर्नुहुन्छ ।”

दर्शकमा फिल्मप्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र सङ्घको पूर्वध्यक्ष प्रदीपकुमार उदय बताउँछन् । “आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्ममा नयाँपन पाइएको छैन । लकडाउन पश्चात् नेपालमा पनि ओटिटी प्रयोगकर्ता बढेकाले पनि दर्शक हलमा कम देखिनुभएको हो”, उनले भने । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उनी दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउँछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।