बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधि सभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडा मार्फत गल्छी गाउँपालिका–६ महादेवस्थनमा मुख्यमन्त्री पाण्डेको मनोनयनपत्र दर्ता गरिएको हो ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ–१ बाट उम्मेदवार भएका हुन् ।
विसं २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा धादिङ जिल्ला पञ्चायतको सभापति पदमा विजयी भएका नेता पाण्डेलाई शासन व्यवस्थाको विरोध गरेवापत तत्कालीन पञ्चायती शासकले पदीय जिम्मेवारीबाट हटाई राजकाज अपराध अन्तर्गत तीन वर्ष जेल सजाय र रु तीन हजार जरिवाना गरेको थियो ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेता पाण्डे जेलमुक्त भएका थिए । विसं २०६४ को निर्वाचन बाहेक २०४८ पछि मुलुकमा सम्पन्न सबै संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भई २०६३ मा उनी स्थानीय विकास मन्त्री समेत भएका थिए । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उनी धादिङ क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । नेकपा (एमाले) बाट विद्रोह गरी गठन भएको नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उनी बागमती प्रदेशका मुख्यमन्त्री छन् ।
आमा मनमाया पाण्डेको यही असोज १३ गते निधन भएपछि मुख्यमन्त्री पाण्डे हाल काठमाडौं स्वयम्भूमा किरियाकर्ममा रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया