धौलागिरी लघुवित्त वित्तीय संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले धौलागिरी लघुवित्तको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्न सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौंलाई नियुक्त गरेको हो । यससँगै अब लघुवित्तका सेयरधनीले सम्पूर्ण सेयर सम्बन्धी काम सनराइज क्यापिटल मार्फत पाउनेछन् ।
धौलागिरी लघुवित्तले कार्तिक ३ गते बिहीबार मात्रै नेप्सेमा चुक्ता पुँजीका आधारमा १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत गराएको छ । लघुवित्तको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबारदेखि खरिद बिक्रीको बाटो खुला भएको छ ।
धौलागिरी लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले ‘डीएलबीएस’ कारोबार संकेतमा दिएको छ । धौलागिरीको सेयर सूचीकृत भएसँगै नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । नेप्सेले कम्पनीको सेयर पहिलो पटकको कारोबारका लागि न्यूनतम १४८.६६ रुपैयाँ देखि अधिकतम ४४५.९८ रुपैयाँ निर्धारण गरेको छ । अब कात्तिक ६ गते आइतबार कम्पनीको सेयर नेप्सेले तोकेको ओपनिङ कारोबार रेन्जभित्र रहेर कारोबार खुला हुनेछ ।
धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित राखी ३ लाख ८ हजार २९५ कित्ता भदौ ८ गते बुधबार सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।
गोलाप्रथा मार्फत भएको सेयर बाँडफाँटमा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए। सोमध्ये भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले प्राप्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया