दाबी भुक्तानीमा विलम्ब नगर्न र फर्जी दाबी गर्नेलाई कारबाहीको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई आग्रह गरे ।

उनले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय विमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध गर्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

“आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिकरूपमा नै पतित भएको भन्दै उनले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिए । उनले स्वार्थको द्वन्द्व हुने गरी व्यवसाय नगर्न पनि सम्बद्ध सबैमा आग्रह गरे ।