बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा मुगु विद्युतविहीन

0
Shares

गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ।

गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको छ।

यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको छ।

बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत गर्नु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ। चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको प्रधिकरणले जनाएको छ।

साथै, वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘पुनर्निर्माणलाई तिब्रता दिने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादनको प्रयास गरिरहेका छौं’, उनले भने।

भौगोलिक रुपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन।

नेपाल विद्युत प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको छ। मुगुमा विद्युत सेवा लिने ग्राहकको संख्या ३१०० छ।

  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।