अरुण खोला दुम्किबास १३२ केभी सव-स्टेशन निर्माण प्रक्रिया सुरु

0
Shares

नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सव–स्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ मा निर्माण गरिने अरुण खोला दुम्किवास १३२ केभी सवस्टेशन आयोजनाका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए ।

सव–स्टेशन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उनले बताए। एसियाली विकास बैंकको ७० लाख अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट गरी सम्झौताको काम अगाडि बढेको आयोजना प्रमुख गुरुङले बताए।

हाल बर्दघाटबाट ह्वाङ्सी सिमेन्ट उद्योगसम्म आएको १३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सव–स्टेशन निर्माण गरिनेछ । सव–स्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका उपभोक्ताले भोग्नुपरेको भोल्टेजसम्बन्धी समस्या समाधान हुनेछ ।

हाल मध्यविन्दु नगरपालिकाको गिरुवारी खोलापूर्व क्षेत्रमा प्रगति नगर सव–स्टेशन र पश्चिमतर्फ बर्दघाट सब–स्टेशनमार्फत विद्युतीकरण हुँदै आएको छ ।

अब सव–स्टेशन निर्माणपछि गिरुवारी खोला पश्चिम मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा सोही स्टेशनबाट विद्युतीकरण हुनेछ । हाल यस क्षेत्रका स्थानीयवासीले कम भोल्टेज समय समयमा विद्युत् प्रसारण अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएका छन् ।

सव–स्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नुपरेको समस्या समाधानसँगै स्थानीयस्तरमा लगानीको वातावरण तयार हुने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले विश्वास व्यक्त गरे।

हाल विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायीहरूको सङ्ख्या उल्लेखनीय रहेको भन्दै उनले सव–स्टेशन निर्माणपछि थप व्यवसायी व्यवसाय सञ्चालनका लागि गाउँपालिका आउने उनले विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।