जाल्पाको बम्पर लाभांशले उचाल्यो सेयर बजार, इन्डेक्स दुई हजार बिन्दुतर्फ

0
Shares

जाल्पा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै आइतबार लघुवित्तको उपसमुहगत सूचकमा तीव्रत्तर बढोत्तरी आउँदा सेयर बजारमा उत्साह फर्किएको छ ।

लघुवित्तले चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्वातका कारण वितरणयोग्य नाफा धेरै आर्जन गरेका अन्य लघुवित्तले पनि सोही अनुसार लाभांश आउने आशामा उक्त उपसमुहगत सूचक सबै उच्च बढेको हो । जाल्पा गत आव २०७८/७९ बाट लाभांश वितरण गर्ने पहिलो लघुवित्त पनि हो । लघुवित्तहरुको आगामी प्रस्तावित लाभांश पनि राम्रो आउने विश्वासका साथ लगानीकर्ताहरुले इन्डेक्सको मतलव नगरी लाभांशमा आधारित भएर लगानी बढाएको देखिन्छ ।

एउटा लघुवित्तको बम्पर लाभांश घोषणले सेयर बजारमा उत्प्रेरकको काम गरेको अनुभव बजारका लगानीकर्तामा छ । एक हजार ८०० बिन्दुमा झरेको बजार करिब २ हजारको बिन्दुतर्फ अगाडि बढेको छ ।

आइतबार लघुवित्त मात्र होइन थोरै बजार पुँजीकरण भएका फाइनान्स र अन्यको उपसमुहगत सुचक पनि ४ प्रतिशत धेरैले वृद्धि भएको छ । यस्तै उत्पादन तथा प्रशोधनमुलक र जलविद्युत उपसमुहगत सूचक पनि ३ प्रतिशत अधिक बढेका छन् । म्युचुअल फन्डको सूचक ०.०५ अंकले ऋणात्मक बनेको छ ।

थोरै पुँजी भई गत आवमा उच्च नाफा आर्जन गर्न सफल भएका कम्पनीले धेरै लाभांश दिनसक्ने विश्वासका साथ बजारमा लगानीकर्ताहरुले लगानी वृद्धि गरेको देखिन्छ । यसले कारोबार डेढ अर्बमाथि पुगेको छ । तर बजारप्रति लगानीकर्ताले गरेको यो विश्वास ‘एक्सपेक्टेसन भर्सेस रियालिटी’ अर्थात आंकाक्षा र वास्तविकतामा भने फरक पर्न पनि सक्नेछ ।

एउटा कम्पनीले दिएको लाभांशका आधारमा सबै कम्पनीले सोही अनुसार नै लाभांश वितरण गर्ने नगर्ने सो कम्पनीको सञ्चालक समितिको निर्णमा निर्भर हुने र बजार बढेको बेला लाभांश क्षमता नभएका तर कम पुँजी भएका कम्पनीको सेयरमूल्यमा पनि सोही अनुसार वृद्धि भएको हुनसक्नेतर्फ सचेत भई लगानी रणनीति बनाउनुपर्ने जानकारहरु बताउँछन् ।

आइतबार देखिएको उत्साहकै कारण बजार सूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ८.०९ अंकले बढेर ३८७.५२ बिन्दुमा पुगेको छ । यसदिन १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर २७ हजार ७६८ वटा संख्यामा खरिद बिक्री भएका छन् । आइतबारको वृद्धिपछि सेयर बजारको कुल बजार पुँजीकरण २८ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

आइतबार नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोपावर ६ करोड ७५ लाख, जाल्पा लघुवित्तको ५ करोड ६६ लाख रुपैयाँ बराबरको १६ हजार ६२५ कित्ता सेयर, शिवम् सिमेन्टस् ४ करोड ४४ लाख, मेरो माइक्रोफाइनान्स संस्थापक ३ करोड ८९ लाख, नबिल बैंक ३ करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनी ३ करोड ५४ लाख र फरवार्ड लघुवित्तको ३ करोड २० लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।

 

आइतबार पाँच लघुवित्त कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन जाल्पा, मानुषी, नेष्डो समृद्ध, उपकार र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्किटपछि जाल्पाको सेयरमूल्य ३४०८.९० रुपैयाँ, मानुषीको ११६९.३०, नेष्डो समृद्धको ३१७३.५०, उपकारको ३६३९.६० र उन्नति सहकार्यको ८५४ रुपैयाँ पुगेको छ । यस्तै स्वेतगंगा हाइड्रोपावरको सेयर ९.५२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त ९.५१, विन लघुवित्त ८.७०, राष्ट्र उत्थान लघुवित्त ८.३९ र जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ७.९८ प्रतिशतले वृद्धि भएको छ ।

आजको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरका लगानीकर्ताले सर्वाधिक ३.४८ प्रतिशतका दरले गुमाएका छन् । ८.९० रुपैयाँ सेयरमूल्य घटेसँगै कम्पनीको संस्थापक सेयरको भाउ २४७ रुपैयाँमा झरेको छ । यस्तै नबिल इक्वीटी फन्ड र आरबिबि म्युचुअल फन्डका इकाई लगानीकर्ताले २प्रतिशत बढीले सेयरको भाउ घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।