नेपाल बैंकर्स संघले मङ्सिरका लागि ब्याजदर नबढाउने निर्णयले सेयर बजारमा सकारात्मक असर परेको छ । यसले बुधबार सेयर बजारमा दाहोरो अंकको वृद्धि आएको छ ।
देशभरका उद्योगी ब्यवसायी चर्को ब्याजदरको विरुद्धमा सडक संघर्षमा उत्रिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग न्यून छ । कर्जा लगानी घटेर निक्षेप थपिँदा पछिल्ला दिनहरुमा क्रमशः तरलता सहज बन्दै जान थालेको छ । तरलता सहज बन्दै जाँदा ट्रेजरी बिल्सको डिकाउन्टदर समेत घट्न थालेको छ ।
सेयर बजार र ब्याजदरबीच विपरित सम्बन्ध रहने गर्दछ । ब्याजदर बढ्दा सेयर बजार घट्न पुग्छ भने ब्याजद घट्दै जाँदा सेयर बजारमा लगानी बढ्दै जाँदा सूचक र कारोबार रकम समेत वृद्धि हुँदै जाने गरेको छ ।
बुधबार नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ को बिन्दुमा बन्द भएको छ । कार्तिककै ब्याजदरले निरन्तरता पाएसँगै सेयर बजारमा पुन हरीयाली छाएको हो । मङिसर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति तोकेकाले चुनावपछि निक्षेप थप सहज हुने हुँदा लगानीकर्ताले बुधबारको बजारमा सेयर खरिद गरेका हुन् । चुनावअघि अब बिहीबार मात्र सेयर कारोबार हुनेछ ।
आज २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता १७ हजार ७०२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँमा समेटिएको छ ।

बुधबार रिडी हाईड्रोपावरको सर्वाधिक ६.०३ करोडको सेयर कारोबार हुँदा हिमालयन डिस्टीलरीको ४.०२ करोड र नेपाल लाइफ इन्सयोरेन्सको ३.८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टस् ३.७८ करोड तथा जाल्पा लघुवित्तको २ करोड ७८ लाखको सेयर कारोबारमा आएको छ ।
आज सिक्लेस हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ३२.१० रुपैयाँ बढेर ३५३.१० रुपैयाँ पुगेको छ । गणपति लघुवित्त ७.७१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ५.५३ प्रतिशत, रिडी पावर कम्पनी ५.४४ र तेह्रथुम पावर कम्पनीको ४.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सर्वाधिक गुमाउने कम्पनीको अग्र स्थानमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । संस्थाको सेयरमूल्य आज ४.१३ प्रतिशतले घटेर १ हजार ६०० रुपैयाँमा झरेको छ । त्यस्तै सबैको लघुवित्तको ३.६८ प्रतिशत, विशाल बजार कम्पनीको २.८४ प्रतिशत, बुद्धभूमी नेपाल हाइड्रोपावरको २.७४ प्रतिशत र लक्ष्मी उन्नति कोषको इकाईमूल्य २.६४ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया