निर्वाचनपछि पहिलो कारोबार दिनमै घट्यो नेप्से

0
Shares

सेयर बजारमा चुनावी प्रभाव कम पर्दा निर्वाचनपछिको पहिलो कारोबार दिनमा नै मंगलबार नेप्से घटेको छ । चुनावपछि बजार बढ्छ भन्ने आम लगानीकर्ताको मनोविज्ञानको विपरित बजार घटेको हो ।

सामान्यतया आम चुनावमा जित निकाल्नका लागि उम्मेदवारले मतदातालाई प्रशस्त पैसा बाँड्ने र उक्त रकम बैंकिङ्ग प्रणालीमा आउँदा तरलता सहज हुँदा सेयर बजार बढ्ने अनुमान गरिन्छ । चुनावमा कालोधन समेत आउने हुँदा बजारमा नभएको रकम समेत प्रणालीमा आउने हुँदा बजार बढ्ने गरेको विगतका दृष्टान्तहरु पनि देखिन्थे । तर यस पटक बजारले चुनावपछि विपरित प्रतिक्रिया दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज सेयर बजार ०.३७ प्रतिशत अर्थात ७.१३ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से १९२९.७० बिन्दुमा झरेको छ । ठूला कम्पनीको सेयर कारोबार मापक इन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ३७९.५९ बिन्दुमा झरेको छ ।
बजार बढ्नेमा आम लगानीकर्ता निश्चिन्त हुन नसक्दा चुनावअधिका दुई कारोबार दिनमा ३९ अंकले बढेको बजार चुनावपछिको पहिलो कारोबार दिन नै घटेको हो ।

यसदिन कूल २२८ वटा कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर २४ हजार २४३ वटा संख्यामा खरिदबिक्री हुँदा कारोबार रकम १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रूपैयाँमा समेटिएको छ ।  कारोबारमा आएका १३ उपसमूहगत सूचक मध्ये आज २ वटा बढेको छ भने बाँकी ११ वटा घटेको छ । बैंकिङ्ग र जीवन बीमा बढ्दा विकास बैंक १.४४, अन्य १.२१ र जलविद्युत ०.६९ प्रतिशतले घटेको छ ।

मंगलबार नेपाल बैंक लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको १२ करोड १६ लाख ८ हजार रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै रिडी पावर ८.६७ करोड, हिमालयन डिष्टिलरी ८.६० करोड, शिवम् सिमेन्टस् ८.४३ करोड र ङादी ग्रुप पावरको ४.९० करोड बराबरको सेयर कारोबारमा आएको छ ।

आज जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । फाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै ६.२३ प्रतिशतले नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य बढेर ३७५ रूपैयाँ पुगेको छ । यस्तै खप्तड लघुवित्त ३.९९ प्रतिशत, धौलागिरी लघुवित्त ३.९७, सयपत्री हाइड्रोपावर ३.८० र सिद्धार्थ इक्वीटी फन्डको इकाईमूल्य ३.७५ प्रतिशतले बढेको छ ।

उता आज युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य भने १०९९ रुपैयाँले घटेको छ । कम्पनीको सेयरमूल्य ५.५८ प्रतिशतले घटेर १८ हजार ६०१ रूपैयाँमा झरेको छ । गत आवको नाफाबाछ १२१५ रुपैयाँ नगद लाभांश वितरण गरेको कम्पनीले मंसिर ४ गते बुकक्लोज तोकेकाले बुकक्लोजपछि कम्पनीको सेयरमूल्य घटेको हो । नेप्सेले बजारमूल्यको १० प्रतिशतभन्दा कममा नगद लाभांश समायोजन नगर्ने भएपनि बजारले नै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

यस्तै आजको बजारबाट सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ४.४८ प्रतिशत, दोर्दीखोला ४.४८ प्रतिशत, अपर हेवाखोला ४.३५ र सिटिजन्स म्युचुअल फन्ड–१ को इकाईमूल्य ४.०५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार  १६ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।