न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएपछि ग्राउन्डेड


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो ।

दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताए । उनले भने, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।”
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।