पौने १६ करोड ठगीको अभियोग लागेका राज्यमन्त्री रावलद्वारा राजीनामा

0
Shares

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

कीर्ते गरेर पौने १६ करोड ठगीको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । 

“म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ” राज्यमन्त्री रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

 नेकपाका प्रदेश राज्यमन्त्री रावलको मुद्दा अहिले जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ । ७ साउन ०७६ मा जिल्ला सरकारी वकिल कार्यालयले रावलसहित ३६ जनालाई प्रतिवादी बनाएर कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मन्त्री रावलसहितका अधिकारीले अवैध सम्पत्ति आर्जन गरेको खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न कार्यालयमा छापा मारेर मन्त्रीसहितका अभियुक्तहरुको सम्पत्ति रोक्का गरेको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वा्चित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए ।