मर्जर प्रकृयामा रहेको सिद्धार्थ इन्स्योरेन्सको पनि खुल्यो सेयर कारोबार

0
Shares

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ ल्याएपछि मर्जर प्रकृयामा रहेका कम्पनीहरुको धमाधम सेयर कारोबार खुल्दै जान थालेको छ ।

थप एक इन्स्योरेन्स कम्पनीको पनि सोमबारदेखि कारोबार खुलेको छ । प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर फुकुवा भएको हाे ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीको मंसिर १ गतेको पत्रानुसार कम्पनीको संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका सेयरधनीको नेप्सेले सेयर कारोबार आजदेखि फुकुवा गरिएको जनाएको छ ।

कारोबार फुकुवासँगै अब भोलि मंगलबारदेखि नै सिद्धार्थ इन्स्योेरेन्सको सेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच २०७९ असार २७ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले दुबै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको थियो ।

यी दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमालाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ ।
प्राधिकरणले दिएको पुँजी वृद्धिको निर्देशन बमोजिम इन्स्योरेन्स कम्पनीहरु पुँजी वृद्धि गर्न पछिल्लो समय धमाधम मर्जरमा रहेका छन्। सो बमोजिम बीमा कम्पनीहरुले २०७९ चैत मसान्तभित्र तोकिएको पुँजी पुर्‍याउनुपर्नेछ । स्वयं पुँजीको जोहो गर्न नसक्ने कम्पनीहरुले मर्जरको बाटो अपनाएका हुन् ।

सोमबारै एनसीसी बैंकको सेयर कारोबार खुला भएको थियो भने यसअघि सेञ्चुरी कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायतको सेयर कारोबार खुला भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।