नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा.घिमिरेले दिए राजीनामा

0
Shares

नेपालमा पुनर्बीमा कम्पनीका अध्यक्ष डा.रबिन्द्र घिमिरले राजीनामा दिएका छन् । कोरोना बीमा दाबी भुक्तानीका लागि कम्पनीको तर्फबाट कुनै रकम थप गर्न नमाने पछि अर्थमन्त्री जनार्दन शर्माले उनको राजीनामा माग गरेका हुन् ।

अध्यक्ष डा.घिमिरे आइतबार नै लिखित रुपमा राजीनामा दिएको बताएका छन् ।

कोरोना बीमा दाबी भुक्तानी रकमध्ये सरकारले गत महिना नेपाल बीमा प्राधिकरणलाई एक अर्ब रुपैयाँ हस्तान्तरण गरेको थियो । अर्थमन्त्रालयले सो रकमलाई ५५ प्रतिशत मानेर ४५ प्रतिशत रकम प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुबाट संकलन गर्न आग्रह गरेको थियो । सोही बमोजिम प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको हकमा १२ प्रतिशत अर्थात् २१ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न पत्राचार गरेको थियो ।

तर, कम्पनीले कोरोना बीमा मापदण्ड बमोजिम कम्पनीले रकम थप गर्नुनपर्ने प्रतिउत्तर पठाएको थियो । कम्पनीको सो निर्णय प्रति रुष्ट हुँदै प्राधिकरणले आगामी एक हप्तामा रकम उपलब्ध गराउन आदेश दिएको थियो ।

प्राधिकरणको दोस्रो आदेश पछि पनि नेपाल पुनर्बीमा कम्पनीले रकम उपलब्ध नगराएपछि मन्त्री शर्माले अध्यक्ष डा. घिमिरले फोन सम्पर्क गरी रकमको विषयमा सोधपुछ गरेका थिए ।

मन्त्री शर्माको सोधपुछमा कम्पनीका अध्यक्ष डा.घिमिरले कम्पनीले कोरोना दाबी रकम भुक्तानी गर्नुपर्ने कुनै आधार नभएको भन्दै भुक्तानी गर्न नमिल्ने जानकारी गराएका थिए ।

सोही विषयलाई लिएर मन्त्री शर्माले राजीनामा माग गरेको उनले बताए । डा. घिमिरे १३ महिना अघि नेपाल पुनर्बीमा कम्पनीमा नियुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।