अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट नभन्न विज्ञ तथा सरोकारवालालाई आग्रह गरेका हुन् ।
केन्द्रीय बैंकले असोजमा प्रकाशित गरेको तथ्यांकमा देशको वर्तमान आर्थिक अवस्थामा समेत अर्थतन्त्र सुधारउन्मुख भएको देखिएको छ । तैपनि केही व्यक्ति तथा आर्थिक क्षेत्रका विज्ञहरु अर्थतन्त्र संकटतर्फ धकेलिएको बताउँदै हिडेकोमा अर्थमन्त्री शर्मा असन्तुष्ट बनेका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा शर्माले भने, ‘अर्थतन्त्रले संकटभन्दा पनि विभिन्न चाप र चुनौतीको सामना गरिहेकाले अहिले समाधानका उपायतर्फ सोचौं र छलफल गरौं, अहिलेको अवस्था जे हो, त्यही भनौं, गलत प्रचारप्रसार नगरौं ।’ अहिले राजस्व संकलन घटेको र उपभोग पनि घटेको अवस्था रहेको भन्दै उनले अब विकास निर्माणलाई तिब्रता दिएसँगै माग बढ्ने बताए।
सो अवसरमा उनले मुलुकको अर्थतन्त्र तथा रोजगारीमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई कम आक्न नहुने भन्दै माग तथा समस्याहरू सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरे । ‘परम्परागत शैलीमा मुलुकको अर्थतन्त्र अघि बढेको छ,’ शर्माले भने, ‘अब नयाँ आयामहरू खोजौं, जस्तो पानी, विद्युत, सूचना प्रविधि र भएका आर्थिक क्षेत्रमा नविनतम प्रविधिको प्रयाग गरौं ।’ यस्तै, नेपालको आफ्नै क्षमता, वितरण प्रणाली, संरचनामा संकट भएको पनि उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया