विवाहको सिजनमा सुनकाे भाउमा उच्च वृद्धि, प्रतितोला एक लाख नजिक पुग्यो

0
Shares

मंसिर महिना धेरैको जोडी बाँधिने महिना हो । यो महिनामा अन्य महिनाको तुलनामा सुनको माग तीन गुणासम्म हुने गर्दछ । यहि समय सुनको भाउमा निरन्तर मूल्यवृद्धि हुँदा सुन खरिद गनुपर्नेहरु भने मारमा परेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारयता सुनको भाउ बढ्ने क्रममा निरन्तरता पाइरहेको छ । आइतबार सुन थप तोलामा ४०० रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ ।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ तोकेको छ । शुक्रबार छापावाला सुनको मूल्य एक हजारले बढेर ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला पनि ४०० ले नै बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आइतबार तोलामा २५ रुपैयाँले महङ्गिँदै प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ । शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९८ डलर तथा चाँदी प्रतिऔंस २३.१६ डलरमा कारोबार भइरहेको छ ।

नेपालमा खपत हुने सबै सुन पुर्ण रुपमा आयातमा निर्भर रहेको छ । विवाहको सिजनका कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो । गत मंगलबारयता सुन तोलामा २ हजार १०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला ८५ रुपैयाँले महङ्गिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।