हिमालयन डिस्टिलरीले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ५० प्रतिशत बोनस तथा करसहित ५२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुने छ ।
कम्पनीले पुस १ गते मंगलबार बिरगंज स्थित आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको छ । लाभांश वितरण प्रयोजनका लागि मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १३ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।
कम्पनीले बम्पर लाभांश घोषणा गरेसँगै शेयर मूल्य समेत दश प्रतिशतले उकालो लागेको छ । सोमबारको बजारमा कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १७१० रुपैयाँ पुगेको छ ।
कम्पनीले यस अघि गत जेठमा ३० देखि ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश समेत वितरण गरेको थियो । कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।











प्रतिक्रिया