चौतर्फी विरोधपछि रोकिएका चार वस्तुको पनि आयात खुल्यो


सरकारले व्यवसायीको चर्को विरोधपछि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । व्यवसायीको विरोधसँगै राजस्वमा पनि दबाब परेपछि सरकारले विलासीका सामाग्रीको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

उच्च आयातका कारण विदेशी सञ्चितिमा दबाब परेपछि सरकारले गत वैशाख देखि विभिन्न वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले अर्थतन्त्रको बाह्य क्षेत्रलाई ध्यानमा राखेर आयात नियन्त्रण गर्दा राजस्वमा असर गरेको छ ।  सरकारले राखेको लक्ष्य अनुसार राजस्व संकलन नभएपछि चालु खर्चका लागि समेत वित्तीय व्यवस्थापनमा दबाब आयात प्रतिबन्ध हटाउने निर्णय गरेको हो । 

मंगलबार बसेको मन्त्री परिषदको बैठकले मंसिर २९ गतेसम्म प्रतिबन्ध गरिएका वस्तुको आयात खुलाएको सहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिए । उनका अनुसार मन्त्री परिषद पुसदेखि लागू हुने गरी आयात प्रतिबन्ध हटाएको हो । 

सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो । बाँकी रहेका ४ वस्तुको आयात प्रतिबन्ध मंसिर २९ सम्म कायम राखेको थियो । पुस देखि आयात खुलेको वस्तुहरूमा सबै प्रकारका निजी चार पाङ्ग्रे सवारीसाधन, १५० सीसी माथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलर माथिका मोबाइल फोन रहेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।