नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस सेयरको मूल्य समायोजनपछि बुधबार २४२ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको छ ।
नेप्सेले बैंकको ४ प्रतिशत बोनस सेयर सेयर समायोजनपछि प्रतिकित्ता २४२ दशमलव १२ रुपैयाँ समायोजित सेयरमूल्य तोकेको थियो । नेप्सेले तोकेको भन्दा २ पैसा कममा बैंकको सेयर कारोबारमा आएको हो । पहिलो कारोबारमा बैंकको २०० कित्ता सेयर कारोबार भएको थियो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले बुधवार बुकक्लोज गरेको हो । बुकक्लोजसँगै नेप्सेले मंगलबार कारोबार भएको अन्तिम मूल्य (२५१ दशमलव ८० पैसा) लाई आधार मानेर बोनस समायेजन गरेको हो ।
सेयर मूल्य समायोजनभन्दा बैंकको सेयर बुधबार घटेको छ । बुधबार कारोबारको २ घण्टा अवधिमा बैंकको सेयरमूल्य ५.८२ रुपैयाँ घटेर २३६.३० रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको १० हजार ४७२ कित्ता सेयर २४ लाख ९० हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ ।
हिमालयन बैंकसँगको मर्जर सम्झौताका कारण एक वर्षभन्दा धेरै समय नेप्सेमा रोक्का रहेको बैंकको सेयर कारोबार २०७९ जेठ १६ देखि कारोबार खुला भएको थियो । बैंक पुनः मेगा बैंकसँग मर्जरमा गएपछि २७ गते कारोबारमा भएपछि मर्जर सम्झौताका कारण इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का रहेको थियो । धितोपत्र बोर्डले मर्जरमा रहेका संस्थाहरुको सेयर कारोबार बढीमा १५ दिनमात्र बन्द गर्नसक्ने निर्देशिका जारी भएपछि मंसिर ६ गतेदेखि बैंकको सेयर कारोबार पुनः खुला भएको थियो ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे आह्वान गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया