प्रधानमन्त्री तथा देशका ठूला राजनैतिक दलका शीर्ष नेताहरु समेतको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने एकै स्वरको आश्वासनप्रति धितोपत्र बजारका लगानीकर्ता आश्वस्त हुन नसक्दा सेयर बजारको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ ।
धितोपत्र बजारका लगानीकर्ताहरुको मनोबल बढ्न नसक्दा बुधबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । यद्यपी मंगलबार उक अर्बभन्दा तल झरेको कारोबार रकम भने बुधबार १ अर्ब ६५ करोड बढी पुगेको छ ।
चुनावपछि बैंकिङ प्रणालीमा आउँदा निक्षेप थपिए पनि लामो समयदेखि रहेको उच्च ब्याजदर नघट्दा धितोपत्र बजारका लगानीकर्ताको मनोबल बजारप्रति फर्कन सकेको छैन । ब्याजदर नबढेपनि ब्याजदर तत्काल घट्ने अवस्था छैन । तर मंसिरको पहिलो साता ३ अर्बको बढेको निक्षेप दोस्रो हप्ता ११ अर्ब रुपैयाँले थपिएको छ । यस अवधिमा १ अर्बले मात्र कर्जा बढेको छ । अघिल्लो साता ३ अर्बले कर्जा बढेको थियो ।
बजारमा माग सिर्जना हुन नसक्दा अझैपनि अर्थतन्त्र अपेक्षित रुपमा चलायमान हुन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवा स्वंयमले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएपनि त्यसले पनि बजारप्रति सकारात्मक असर देखिन नसकिएको हो ।
प्रधानमन्त्री देउवाले उद्योगीसँगको भेटमा दिए अर्थतन्त्रका समस्या समाधान गर्ने आश्वासन
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले उद्योगीलाई दिए अर्थतन्त्र सुधार गर्ने आश्वासन
निर्वाचनपछि सरकार गठनको जोडघटाउन चल्न लाग्दा आगामी सरकार कसको नेतृत्वमा बन्छ भन्ने अझै स्पष्टता आइसकेको छैन । सरकार सञ्चालक दल नेपाल कांगे्रसभित्रै प्रधानमन्त्रीको आंकाक्षि को हुने भन्नेमा एकमत छैन भने तथा पुँजी बजार सम्बद्ध मन्त्रालय अर्थ मन्त्रालयमा को आउँछ भनेर अहिले लगानीकर्ताहरु पर्खेर बस्दा लगानीकर्ताहरुको मनोबल कमजोर नै रहेको हो । नेपालको धितोपत्र बजारले अर्थमन्त्रालयको नेतृत्व कसले गर्छ त्यस अनुसारको प्रतिक्रिया देखाउने गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बजार १६.६१ अङ्कले घटेर १९१७ दशमलव २८ अंकमा कायम भएको छ । आज २४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको छ । आजको कारोबारमा ५३ कम्पनीका सेयर मूल्य बढेका छन् भने १७९ कम्पनीका मूल्य घटेका छन् । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमुगत सूचकमध्ये होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका घटेका छन् । होटल तथा पर्यटन समूहको उपसूचक ०.०१ प्रतिशतले बढेको छ भने बैंकिङ १.२८, वित्त १.२७, उत्पादन तथा प्रशोधनमुलक १.१०, विकास बैंक ०.९० र जलविद्युत् ०.६२ प्रतिशतले घटेको छ ।
आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६.०९ प्रतिशतले बढेर ४४०.५० रुपैयाँ पुगेको छ । यस्तै कुमारी धनवृद्धिको इकाई ५.१५ प्रतिशत, ग्रीन भेञ्चर ४.४२, नेशनल माइक्रोफाइनान्स ३ र सानिमा लार्ज क्याप फन्ड २.५३ प्रतिशतले बढेको छ ।
उता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता आज ९.९९ प्रतिशतले घटेर ७७९.३० रुपैयाँमा झरेको छ । यस्तै ग्लोबल आईएमई बैंकको ९.२९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड–१ को इकाईमूल्य ७.५६, शिवम् सिमेन्टस् ४.८६ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.८६ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक सेयर ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको ५१ लाख कित्ता सेयर किनबेच भएको छ । शिवम् सिमेन्टसको १३ करोड ८५ लाख, नबिल बैंक ४ करोड ५२ लाख, हिमालयन डिष्टिलरी ३ करोड ५२ लाख र रिडी पावरको ३ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया